विप्लवको पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा


 


काठमाडौं । सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा भएको छ ।

गत साउनमा पक्राउ परेका प्रतिबन्धित नेकपाका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्माबाट विप्लव समूहले विभिन्न देशमा हतियार खरिदका लागि ठूलो रकम पठाएको सुरक्षा स्रोतले बताएको छ । यद्यपि कति रकम र कुन माध्यमबाट पठाएको हो सो भने खुलाइएको छैन ।

विश्वकर्मालाई पक्राउ गरेपछि उनको साथबाट भेटिएका दस्तावेज र सोधपुछका क्रममा उक्त कुराको खुलासा भएको थियो । उनलाई प्रक्राउ गर्ने महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले दिएको जानकारीअनुसार उक्त सूचना सरकारलाई त्यति बेला नै जानकारी दिइएको थियो । उच्च स्रोतले भन्यो, ’हामी त्यति ठूलो रकम विदेश पठाएको देख्दा झस्कियौँ । केही न केही छ भन्ने त्यति बेला नै लागेको थियो ।’ भारतको बाटो हुँदै सिंगापुर रकम पठाएको पत्ता लागेको बताउने ती अधिकारीले भने, ’पूर्वमन्त्रीसमेत रहेका विप्लवपछिका नेता प्रकाण्डको पक्राउ पहिले नै ठूलो रकम श्रीलंका, भारत र सिंगापुर पठाइएको रहेछ ।’

त्यो रकम हतियार दलालहरूलाई पठाइएको हुनसक्ने सुरक्षा निकायहरूको अनुमान छ । माओवादी युद्धका क्रममा सरकारकी सुरक्षा संयन्त्रहरूबाट लगेका लगभग दुई हजारभन्दा बढी अत्याधुनिक हतियार विप्लव समूहसँग रहेको र नयाँ हतियार किन्नका लागि रकम पठाइएको हुनसक्ने सुरक्षा निकायको ठहर छ । साभार : थाहा खबरबाट

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्