ग्रेस म्यानपावरको ठगीधन्दा: भिसादेखि प्लेन टिकटसम्म नक्कली ! एकैदिन ठगिए ५२ जना (भिडियोसहित)


 


काठमाडौं । दुबईको भिसा नक्कली, नेपाल एयरलाइन्सको टिकट नक्कली । साथमा सम्झौतापत्र र तालिम पनि नक्कली । काठमाडौंस्थित सामाखुशीमा रहेको ग्रेस मेनपावर प्राइभेट लिमिटेडले चलाएको ठगीधन्दाको उदाहरण हो यो ।

आइतबार ग्रेस मेनपावरले दुबई उडाउने भन्दै ५२ जनालाई अलपत्र पारेर त्यसका एजेन्ट रमेश सिंह विष्ट फरार भएका छन् । ५२ जनाले जनही १ लाख ५० हजार रुपैयाँ ग्रेस मेनपावरकै कार्यालयमा गएर एजेन्टलाई बुझाएका थिए ।

डडेल्धुरा पर्शुराम नगरपालिकाका राजेन्द्रबहादुर चन्दलगायत सबैलाई ग्रेस मेनपावरका सञ्चालक र एजेन्ट विष्टले आइतबार राति (हिजो) नेपाल एयरलाइन्सबाट दुबई उडाउने जानकारी गराएका थिए । ‘‘हामीलाई भिसा, प्लेन टिकट, तालिम र सम्झौतापत्र दिइएपछि हिजो आइतबार दिउँसो २ बजे कार्यालयमा आएर पासपोर्ट र श्रमस्वीकृतिको कागजात लैजानु भनिएको थियो । ग्रेस मेनपावरमा पुग्दा विष्ट थिएनन्, मोबाइल स्वीच अफ थियो, त्यसपछि सम्पर्क भएको छैन,’’ पीडित राजेन्द्रले बाह्रखरीसँग भने ।

रमेश सम्पर्कविहीन भएपछि पीडितले ग्रेस मेनपावरका प्रबन्ध निर्देशक गजेन्द्र भण्डारीलाई भेटे । सुरुमा गजेन्द्रले एकछिनमा रमेश आउँछन् भने । तर एकछिनपछि आफूले रमेश विष्टलाई नचिन्ने बताए । अर्का पीडित बैतडी मेलौलीका प्रकाश साउँदका अनुसार पीडितहरुले ग्रेस मेनपावरकै कार्यालयमा रमेश विष्टलाई रकम बुझाएका थिए । पैसा बुझाउँदा उनीहरुले गोप्य रुपमा भिडियो पनि खिचेका थिए ।

आइतबार राती साढे १० बजे नेपाल एयरलाइन्सबाट दुबई उड्न तयार भएका ५२ जना युवाले अबेर साँझमात्रै आफूलाई दिइएका सबै कागजपत्र नक्कली भएको चाल पाएका थिए । उनीहरुलाई दुबईको ‘हट प्याक’ नामक कम्पनीमा जागिर लगाइदिने र महिनाको १६ सय दिराम मासिक तलब दिने सम्झौतापत्र दिइएको थियो ।

सम्झौतापत्रपछि ८ जनालाई एकपटक उडाउने भनेर नेपाल एयरलाइन्सको नक्कली टिकटसमेत दिइएको थियो । हातमा प्लेन टिकटसमेत आएपछि दुबई जाने बेला भयो भन्दै सबैले घरमा खबर समेत गरिसकेका थिए । तर एजेन्ट नै फरार भएपछि पीडितहरुको बिचल्ली भएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्