उदयपुरमा श्रीमतीकाे इच्छा विपरित करणी गर्ने श्रीमानलाई ३ वर्ष कैद फैसला


 


उदयपुर – श्रीमतीकाे इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार यो फैसला गरेको हो ।

अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।

मुलुकी ऐन जबरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए बमोजिम ३ वर्ष कैद सुनाइएको हो । तर, ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।

शारिरिक अवस्था कमजोर हुँदासमेत ०७५ साउन २१ गते कसुरदारले इच्छा विपरित पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको निवेदनको आधारमा भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुवैको भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्