सरकार राजसंस्थासँग कहिलेसम्म डराउने ?


 


बबिता बस्नेत
म समय हुँ, मेरो जन्म सृष्टिको निर्माणसँगै भएको थियो । म अघिल्लो युगमा थिएँ, यो युगमा छु र आउने युगमा पनि हुनेछु । अनन्त कालदेखि पृथ्वीमा राज गर्ने लडाइँ जारी छ । लाखौँ वर्ष पहिले पृथ्वीमा डाइनोसरजस्तो अद्भूत जीवको राज थियो । तर, समयसँगै चल्न सकेन र उसको अन्त्य भयो ।

फेरि बिस्तारै मान्छेले धर्तीलाई आफ्नो वशमा लिए । अनि शुरु भयो यस्तो आँधी जसले सभ्यताको उदय र अन्त्य देखे । कतै रोमको शान, कतै युनानको विशाल शक्ति, कतै मुगल त कतै ब्रिटिस साम्राज्यले सूर्यलाई आफ्नै आँखा सामुन्ने डुब्दै गरेको देखे । म यी सबै घटनाको साक्षी रहेँ । किनभने म समय हुँ । समय पक्षपात गर्दैन ।

सबै सभ्यता, राजवंश र साम्राज्यले जित्न त सिके, तर ती जितलाई कायम राख्न ती मसँगै बदलिएनन् । जो समयसँगै बदलिँदैनन्, समयले उनीहरूलाई बदलिदिन्छ । आज फेरि समय बदलिइरहेको छ । आउने दिन कस्तो हुन्छ बताउनुअघि म तपाईंहरूसँग तीनवटा प्रश्न गर्न चाहन्छु– के तपाईं आफूलाई बदल्ने हिम्मत राख्नुहुन्छ ? के तपाईं सधैँ शिखरमा रहिरहन चाहनुहुन्छ ? के तपाईं समयसँगै आफूलाई बदल्न तयार हुनुहुन्छ ? यदि तपाईंको उत्तर ‘म तयार छु’ हुन्छ भने जान्नुस् हिजोको सफलता, आजको जित र भोलिको विजयको पछाडि एउटै रणनीति छ, त्यो हो परिवर्तन । परिवर्तन पहिले सोचमा, अनि व्यवहारमा । यदि तपार्इंले यसो गर्न सक्नुभयो भने सम्झनुस् समय तपाईंको साथमा छ । तपाईं सफल हुनुहुनेछ ।

राजनीति, धर्म, प्रेम, घृणा, व्यक्तिगत टकराव, युद्ध, शान्ति मानवजीवनमा जे–जे देखिन्छ, भेटिन्छ ती सबै कुरा मात्र नभई सृष्टिको विशालता समेटिएको महाभारतमा बडो शानदार रूपमा समयको बारेमा उल्लेख गरिएको छ । महाभारतलाई भारतीय सिने निर्माता बीआर चोपडाले टेलिशृङ्खलामा देखाउँदा ‘म समय हुँ’ भनी ‘समय’को वाणीका रूपमा राखिएको यो एकल संवाद महाभारत शृङ्खलाको सबैभन्दा शक्तिशाली संवाद हो । समयबारे उल्लिखित कुरा हाम्रो मुलुकमा पनि पटकपटक लागू भइसकेको छ । राणाशासनमा राणाहरूले आफूबाहेक अरूको अस्तित्व कहिल्यै देखेनन्, देख्ने कोसिस नै गरेनन् । फरक परिस्थितिलाई आत्मसात् गर्ने कुरा उनीहरूका लागि निकै टाढाको कुरा थियो । समयसँगै आफूलाई बदल्न नसक्दा समयले उनीहरूलाई बदलिदियो ।

राजा ज्ञानेन्द्रको हैसियत त अहिले जनताको नजरमा मात्रै भीभीआईपी हो, सरकारले तय गरेको प्रोटोकलमा त कहीँ छैन । सरकारको प्रोटोकलमा पूर्वराष्ट्रप्रमुखसमेत नरहेका राजासँग भेट्न कसैले कहीँबाट स्वीकृति लिइरहनुपर्ने त देखिँदैन । सर्वसाधारणको रूपमा जीवन बिताइरहेका राजासँग हाम्रो नेतृत्वलाई यति धेरै डर किन ?

पञ्चायतदेखि राजाको प्रत्यक्ष शासनसम्ममा यही कुरा लागू हुन्छ । परिस्थितिलाई आकलन र आत्मसात् गर्न नसक्दा समयले परिस्थिति बदलिदियो । समय सधैँ एकनास रहँदैन, सयमले मानिसलाई सधैँ अवसर दिँदैन । इतिहासमा ज्यादै थोरै मानिसले मात्रै आफूलाई प्राप्त अवसरको सदुपयोग गर्न सकेका छन् । धेरैलाई त अवसर प्राप्त भएपछि आफू चिरकालका लागि यो स्थानमा छु भन्ने भ्रममै समय बितेको थाहा हुँदैन ।

यो मुलुकमा अहिले प्रधानमन्त्रीका रूपमा केपी ओली र उहाँको टिमलाई समयले इतिहास रच्न सक्ने गरी अवसर दिएको छ । तर, यो अवसरलाई उहाँहरूले अरूलाई गालीगलौज गर्नमा खर्च गरिरहनुभएको छ । प्रधानमन्त्री स्वयम्ले केही समय काङ्ग्रेसलाई गाली र व्यङ्ग्य गर्नमा खर्च गर्नुभो, अहिले काङ्ग्रेसलाई छोडेर राजा र विप्लवलाई गाली गर्नमा उहाँको अमूल्य समय र शक्ति खर्च भइरहेको छ । यदि कुनै शक्ति बाहिर छ र त्यसले हानि गर्छ भन्ने आफूलाई लागेको भए त्यसको व्यवस्थापन कसरी गर्ने, कसरी मिलाएर लाने भन्नेबारेमा सोच्ने र सोहीअनुरूपको नीति लागू गर्ने काम कुशल नेतृत्वको हो ।

यही चैत १० गते आइतबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जुन कुरा संसद्लाई सम्बोधन गरी–गरी भन्नुपर्ने प्रसङ्ग हो जस्तो लाग्दैन । राजतन्त्रबारे जनमतसङ्ग्रहको कुरा उठेको बताउँदै उहाँले ‘राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगर्न जनताको तर्फबाट आग्रह गर्छु’ भन्नुभएको छ । जनताको तर्फबाट उहाँले आग्रह गर्नुभएको भए जनमतसङ्ग्रहको माग गर्नेचाहिँ को हुन् त ? तीचाहिँ यो देशका जनता होइनन् ? राज्य संरचनामा बसेर पटकपटक राजतन्त्रको कुरा गरिरहनुको अर्थ राजालाई शक्तिको रूपमा मान्यता दिनु हो, राजाका पक्षमा एउटा जमात छ भनेर स्वीकार गर्नु हो, चाहे त्यो गाली नै किन नहोस् । गणतन्त्रपछि मुलुकको नेतृत्व लिनेहरू डा. बाबुराम भट्टराई, प्रचण्ड, माधव नेपाल हुँदै केपी ओलीसम्म यही मान्यताबाट निर्देशित भएर अघि बढेको देखिन्छ ।

राजा ज्ञानेन्द्रको तराई भ्रमणलाई लिएर सरकारीस्तरबाट अनेक प्रतिक्रिया आइरहेका छन् । जनकपुर मुकाम बनाएर विभिन्न जिल्लाको सांस्कृतिक भ्रमणमा रहनुभएका राजा र रेल्वेको अवलोकनका क्रममा जनकपुर पुगेका भारतीय राजदूत मञ्जीवसिंह पुरीको बसाइ एउटै होटेलमा परेछ । जिल्लामा प्रायः सुविधायुक्त होटेलहरू कमै हुन्छन् । दुवैका भ्रमण व्यवस्थापकहरूले सुविधायुक्त, सुरक्षित होटेलको व्यवस्था गर्नु स्वाभाविक हो । होटेलमा कसको कोसँग भेटघाट हुन्छ, कुनै आश्चर्यजनक कुरा होइन । तर, एक–अर्काबीच भेटै नभएका राजा र राजदूतले जनकपुरको होटेलमा भेट गरे भनेर मन्त्रिपरिषद्मा छलफलको विषय बनेछ । होटेलको कम्पाउन्डमा दुवैका गाडी देखिएपछि दुवैजना एउटै होटेलमा रहेकोले भित्र भेटघाट भइरहेको होला भनी अन्दाज गरिएको रहेछ । यो घटनाबाट हाम्रो इन्टेलिजेन्सको सूचना कति सतही हुने रहेछ भन्ने प्रमाणित हुन्छ । भेटघाट प्रमाणित भएको भए राजदूतलाई सरकारको तर्फबाट स्पष्टीकरण सोध्ने तयारी भइरहेको थियो भन्ने पनि सुनियो ।

यदि गणतन्त्रको जग बलियो हुन्थ्यो भने राजाका वरिपरि मानिसहरू झुम्मिएको देखेर डराउनुपर्ने कुनै कारण हुने थिएन । सो जग बलियो बनाउन जनमतसङ्ग्रहमार्फत राजसंस्थाबारे निर्णय हुनुपर्थ्यो ।

यहाँ प्रश्न उठ्छ– यदि भेटघाट र कुराकानी भएकै भए पनि यो देशका नागरिकले आफ्नो देशमा कुनै पनि मुलुकलाई प्रतिनिधित्व गर्दै बसेका राजदूतलाई भेट्न पाइँदैन ? राजा ज्ञानेन्द्रको हैसियत त अहिले जनताको नजरमा मात्रै भीभीआईपी हो, सरकारले तय गरेको प्रोटोकलमा त कहीँ छैन । सरकारको प्रोटोकलमा पूर्वराष्ट्रप्रमुखसमेत नरहेका राजासँग भेट्न कसैले कहीँबाट स्वीकृति लिइरहनुपर्ने त देखिँदैन । सर्वसाधारणको रूपमा जीवन बिताइरहेका राजासँग हाम्रो नेतृत्वलाई यति धेरै डर किन ?

प्रश्न जे–जे गरे पनि मुलुकमा गणतन्त्र स्थापना भएर संरचनागत परिवर्तन भइसकेको तीन वर्ष बितिसक्दा पनि नेताहरू गणतन्त्र तलमाथि होला कि भनी त्रसित भइरहनुको कारण हाम्रो गणतन्त्रको जग हो भन्न सकिन्छ । यदि गणतन्त्रको जग बलियो हुन्थ्यो भने राजाका वरिपरि मानिसहरू झुम्मिएको देखेर डराउनुपर्ने कुनै कारण हुने थिएन । सो जग बलियो बनाउन जनमतसङ्ग्रहमार्फत राजसंस्थाबारे निर्णय हुनुपथ्र्यो । जनमतसङ्ग्रह गरेर राजसंस्था हटाइएको भए जनताले फालेको भन्ने आधार र आत्मविश्वास रहिरहने थियो ।

कूटनीतिक मर्यादाभन्दा बाहिरका कोठे भेटघाट र उनीहरूकै चाहनाका आधारमा नेपाली जनताको इच्छा–आकाङ्क्षा के छ ? भनी सोध्दै नसोधी, जनमत नबुझी घोषणा गरिएको हुनाले कसैको सल्लाहले ल्याएको गणतन्त्र यस्तै भेटघाटले जाने पो कि भनी झिनामसिना कुरामा पनि नेता त्रसित हुनुपरेको हो । हिन्दूधर्मका बारेमा पनि यही कुरा लागू हुन्छ । तर, नेतृत्वले बुझ्नुपर्ने कुराचाहिँ के हो भने समय सधैँ एकनास रहँदैन । प्रधानमन्त्री स्वयम्ले जनताले चाहेको कुरामा जनमतसङ्ग्रह हुन्छ भन्नुभएको छ । नेपालीले विगतमा जाहेर गर्न नपाएको अभिमत निर्धक्क दिन पाउने दिन आयो भने यसलाई समयको उल्टो बहाब भन्न मिल्दैन ।

यसरी सधैँ राजसंस्था फर्किएला कि, हिन्दूहरूको विशाल जमातले सडक ठप्प पार्ला कि भनेर डरत्रासमा बस्नुभन्दा जनमतसङ्ग्रहमार्फत छिनोफानो गरेर ढुक्कले राज्यसत्ता सम्हाल्नु राम्रो होला जस्तो लाग्छ । जनमतसङ्ग्रहको माग बढ्दै गयो भने प्रधानमन्त्रीले म त दुईतिहाइको सरकारप्रमुख पो हो त भनेर अड्डी लिन नमिल्ने दिन आउन पनि सक्छ । महाभारतमा कृष्णले पनि यही कुरा दोहोऱ्याएका छन्, जो समयसँगै बदलिँदैन, समयले उसलाई बदलिदिन्छ ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्