छिट्टै नेपालमा रेल ल्याउन चीन आतुर, नेपालको दक्षिण भेगसम्म रेल लैजान तयार


 


काठमाण्डौँ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौँ।’ अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ, उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए।

‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो’, उनले भने, ‘हामी लगानीको प्रतिफलभन्दा पनि नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रित छौं।’ नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ।

चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान,श्रीलंकालगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको बताए। ती अधिकारीले भने, ‘सबै मुलुकलाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत रेलले जोड्ने योजना छ।’ यी मुलुकबीच सडक सञ्जाल, रेल र हवाई सञ्जाल जोड्न सके विश्वको नेतृत्व एसियाले गर्ने अवधारणा चीनको छ। चीनले हिमालपारिका मुलुकलाई रेलमार्गमा जोड्ने योजना तीव्र रूपमा अघि बढाएको छ। रेलमार्गसँग जोडिन चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अन्य मुलुकलाई यसअघि नै आग्रह गरिसकेको छ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्