चुम्बनबाट लाभदायक जीवाणु सर्छन्’


 


एम्सटर्डम दस सेकेन्डको एक चुम्बनको क्रममा करिब आठ करोड जीवाणु चुम्बन गर्नेको मुखमा प्रवेश गर्ने गरेको निष्कर्ष नेदरल्यान्ड्सका वैज्ञानिकको एक दलले निकालेको छ । वैज्ञानिकहरूले १७ देखि ४५ वर्ष उमेर समूहको २१ जोडीको चुम्बन प्रक्रियाको अध्ययन गरेका थिए ।दिनभरिमा नौ पटक चुम्बन गर्नेमा र्‍यालमार्फत् जीवाणु स्थानान्तरित गर्ने सम्भावना बढी हुन्छ । मानवको मुखमा ७ सय प्रकारको जीवाणु करोडौंको संख्यामा उपस्थित रहेका र तीमध्ये केही मात्र तीव्र गतिमा स्थानान्तरित हुने गरेको उक्त अध्ययनले जनाएको छ । ती जीवाणुहरू पाचन, पोषणतत्त्वको मिश्रण र रोगको रोकथाममा लाभदायक हुन्छ ।
नेदरल्यान्ड्सका वैज्ञानिकको यो अध्ययन जर्नल माइक्रोबिओममा प्रकाशित भएको छ । नेदरल्यान्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च -टीएनओ) को एक दलले जोडीहरूसँग चुम्बन बानीबारे थुप्रै प्रश्न गरेका थिए । यसमा ‘गत वर्ष उनीहरूले कति पटक एकअर्कालाई चुम्बन गरेका थिए ? र, अन्तिम पटक लक्ड लिप्स किस -अधर चुम्बन) कहिले गरेका थिए ? जस्ता प्रश्न गरेका थिए ।

वैज्ञानिकहरूले सुरुमा ती जोडीको जिब्रो र र्‍यालको नमुना र १० सेकेन्डपछि फेरि त्यही नमुना लिएका थिए । त्यसपछि उनीहरूलाई जीवाणुको पहिचानलाई सम्भव बनाउने प्रोबायोटिक पेयपदार्थ सेवन गराइयो । अन्तमा जोडीको दोस्रो चुम्बन प्रक्रियापछि वैज्ञानिकहरूले कति जीवाणु अर्को साथीको मुखमा पुगेको पत्ता लगाउन सफल हुन्छन् । यही प्रयोगबाट दस सेकेन्डमा ८ करोड जीवाणु चुम्बन गर्नेको मुखमा पुग्ने गरेको खुलासा भएको हो ।

‘प|mेन्च किसिङ -दीर्घ चुम्बन) को माध्यमबाट निकै तीव्र गति र ठूलो संख्यामा जीवाणु एकअर्काको मुखमा पहुँच बनाउने गर्छ,’ अध्ययन दलका प्रमुख प्राध्यापक रेमको कोर्ट भन्छन् । यस अध्ययनबाट जीवाणुबाट उत्पन्न समस्याको उपचार खोज्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । वैज्ञानिकहरूले यो अध्ययन राजधानी एम्स्टर्डमस्थित जीवाणु संसारको पहिलो म्युजियम -आर्टिस रोयल जु) को सहयोगले गरेको हो । यो चुम्बनको विकासवादी व्याख्या हो ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्