जेठ २४ किशोरको ‘रेस’ देशभर सुरू हुने


 


उर्लाबारी । चल्तीका फिल्म निर्देशक किशोर सुब्बा निर्देशित चलचित्र ‘रेस’ आगामी जेठ २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
चलचित्र निर्माण युनिटले दमकको पाथीभरा चलचित्र मन्दिरमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी गराएको हो । लिवाङ फिल्मस प्रोडक्सन र माता पाथीभरा फिल्मस् प्रालिको संयुक्त व्यानरमा गत वर्ष निर्माण भएको चलचित्र जेठ २४ बाट एकैसाथ देशभर प्रदर्शन हुने भएको हो ।

चलचित्रका निर्देशक सुब्बाले रेस नेपाली फिल्म बजारमा छुट्टै विषयवस्तु भएकोले दर्शकको भरपूर माया पाउने आशा गरिएको बताउनुभयो । मानिसको दैनिकी संघर्षको विषयवस्तुलाई फिल्मले सन्देश दिन खोजेको बताउँदै उहाँले फिल्ममा भरपूर मनोरञ्जन दिन खोजिएको जनाउनुभयो ।

फिल्मका मुख्य निर्माता हस्त लिवाङले ‘रेस’ चलचित्रले नेपाली फिल्मी बजारमा नयाँपन दिन खोजेको बताउनुभयो । चलचित्र एक पटक सबैले हेर्नै पर्ने उहाँको भनाई छ । निर्माता विशाल थेवे ‘रेस’ ले दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताउनुहुन्छ ।

करिव १ करोडको लागतमा निर्माण भएको रेसमा निता ढुंगाना, पुष्पा लिम्बू, जियान, सुलेमान शंकर ‘इकू’, रविन लिवाङ, हस्त लिवाङलगायतको अभिनय रहेको छ । चलचित्रमा कथा/निर्देशन किशोर सुब्बा, मुख्य सहायक निर्देशनमा राजु घिमिरे, पटकथा÷संवाद मौनता श्रेष्ठ, छायाङ्कन कुमार बखती, द्वन्द्व शंकर मर्हजनको रहेको छ ।

यस्तै, नृत्य गोविन्द राई, संगीत आनन्द राई, गीतकारमा आनन्द अधिकारी, कृष्ण थापा, संञ्जित लामा, राजकुमार वगर र स्वर उदित नारायण झा, अन्जु पन्तलगायतको रहेको निर्देशक सुब्बाले बताउनुभयो ।
नेपालका विभिन्न स्थानसहित दुवईमा पनि छायाङ्कन गरिएको फिल्मको कार्यकारी निर्माता किशोर पालुङवा, निर्माताहरुमा विशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बू, राज सेम्बू, सञ्जिव लिङदेन, सहनिर्माताहरुमा पासाङ हयाल्मो, रविकुमार गुरुङ र पदम चोङवाङ रहेका छन् ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्