अनलाइनबाट आइफोन-८ किन्दा डेलिभरी भयो लुगा धुने साबुन !


 


काठमाडौं, ९ बैशाख । मानिसले जीवनशैलीलाई सरल र सहज बनाउन हमेसा उपयुक्त उपाय खोजिरहेका हुन्छन् । जसलाई केहि हदसम्म फुलफिल गरेको छ अनलाइन शपिङले । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले पछिल्लो समय नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ ।

यसै सिलसिलामा घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन बजार नै जानु भन्ने सोचेर एक व्यक्तिले अनलाइनमार्फत् आईफोन अर्डर गरे । तर घरमा डेलिभरी भयो लुगाधुने साबुन ।

भारतको मुम्बईका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन-८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइफोनको सट्टा लुगा धुने साबुन आइपुगेपछि उनी चकित परे ।

तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन-८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर जनवरी २२ तारिकमा पानभेलस्थित निवासमा डिटर्जेन्ट साबुन डेलिभरी भएको दावी उनको छ ।

उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्टविरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका छन् । बिकुला प्रहरी स्टेशनका वरिष्ठ प्रहरी निरीक्षक अविनाश शिंगटेले भनेका छन्, ‘फ्लिपकार्टले धोका दिएको र अपराध गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।’

फ्लिपकार्टका प्रवक्ताले भने यस विषयमा अनुसन्धान गरिरहेको भारतीय समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

अनलाइन सपिङ गर्दा यसरी ग्राहक ठगिएको यो मात्रै पहिलो घटना भने होइन, यसभन्दा अघि पनि भारतीय चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले पनि यस्तो समस्या भोग्नुपरेको सामाजिक संजालमार्फत जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्