श्रीमतीको १३ दिने तिथिमा श्रीमान अस्पतालमा


 


बुटवल । केहि दिनअघि गुल्मीमा भएको जीप दुर्घटनाले निम्ताएको एक दम्पत्ती बीचको वियोगान्त कथा निकै दर्दनाक बनेको छ । चैत २८ गते मुसिकोट–१ च्यानडाँडामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएकी मालिका–१ ह्वाङ्गदी गाउँकी २६ वर्षीया कौशिला थापाको आज मंगलवार १३ दिनको पुण्यतिथी गरियो ।

दुर्भाग्य त्यसै दुर्घटनामा परेका उनका ३२ वर्षीय श्रीमान सुर्य थापा भने श्रीमतीको अन्तिम चेहरा देख्न पाउनु त परै जाओस् आज १३ दिनको पुण्य तिथीका दिन उनको सम्झनामा एक अञ्जुली जल अर्पण गर्न र विधिवत् रुपमा उम्काईने कुनोमा समेत सहभागि हुन पाएनन् ।

उनी अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनकी बहिनी लल्मी थापाका अनुसार श्रीमती कौशलाको मृत्युको खबर सुर्यले १२ औं दिनमा मात्र थाहा पाएका हुन् ।

बहिनी लक्ष्मी भन्छिन्, ‘पाल्पा प्रभासमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं पुर्याईयो । त्यस्तो बेला थाहा दिँदा उहाँको स्वास्थ्य अवस्था झन बिग्रिने डरले खबर गरेका थिएनौं । हिजो १२ दिनको दिनमा मात्र थाहा दिएका हौं ।’

‘आज निस्किने दिन पनि हामीले फोन गरेर जानकारी दिएका थियौं,’ लक्ष्मीले भनिन्, ‘दुर्घटना हुँदा फोनलगायतका सामानहरु यहीँ थियो । ती सामानहरु पठाईदिनु भन्नुभयो, अरु केहि बोल्नुभएन ।’

जुन घरले गृहलक्ष्मी पाएन
भाउजु गुमाउनुको पीडा सुनाउँदै उनी थप्छिन्, ‘चैते दशैंको मुखमा पनि उहाँहरु बुटवल हिँड्नु भयो । किनकि बुटवलमा बनाएर सकिनै लागेको घरमा बैशाख ४ गते भित्र पस्ने दिन निक्लेको थियो । त्यसैले उहाँहरु नयाँ घरमा बस्न चैते दशैं नमानी जानुभएको हो ।’

‘दुर्घटना भई बामीटक्सारस्थित बामी प्रवास अस्पतालमा समेत भाउजुसँग कुरा भएको थियो,’ लक्ष्मीले भनिन्, ‘उहाँसँग फोन थिएन । मैले नै हेल्थपोष्टको डिबी सरलाई फोन गरेर स्वास्थ्य अवस्था बुझे । उहाँले भाउजुको अवस्था त ठिक छ । तर दाजुको अलि गम्भीर छ भन्नुभयो । त्यही भएर मैले भाउजुसँग कुरा गरें । उहाँ भन्दै हुनुहुन्थ्यो । मेरो छात्ती दुखेर सास फेर्न गाह्रो भएको छ ।’

उनले त्यस बामी प्रवास अस्पतालको लापर्वाहीप्रति गुनासो पोख्दै भनिन्, ‘भाउजुलाई तत्काल अक्सिजनको खाँचो रहेछ । तर त्यस अस्पतालमा अक्सिजन राखिएको थिएन् । न त एम्बुलेन्समा रहेछ ।’

उनले दुर्घटनामा परेकी ५ वर्षीया र ४ वर्षीया छोरीलाई पाल्पाबाट ५ दिनको उपचारपछि घर ल्याइएको बताइन् । ठूली चाहिँलाई निको भएपनि सानी चाहिँलाई अझ निको नभएको बताइन् ।

मृतक कौशीलाको माइतीघर अर्घाखाँचीको जुकेना हो । उनीहरुको विवाह ८ बर्षअघि भएको थियो । सुर्य थापा १३ बर्षअघि भारतिय सेनामा भर्ती भएका थिए । बुटवलको शहरमा घर बनाएर श्रीमती र छोराछोरीलाई राखेर सुखी र खुसी राख्ने सपना सुर्य थापाको चकानाचुर भएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्