श्रीलङ्कामा फेरि बम विस्फोट भयो


 


एजेन्सी । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।

गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर ९चर्च० मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोवास्थित चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ । बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलङ्काली रहेको पाइएको छ । –सिन्ह्वा

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्