बुद्ध एयरको जहाजबाट लागुऔषध काठमाडौं लैजान खोज्ने पक्राउ



विराटनगर, बैशाख १३

विराटनगर विमानस्थल हुँदै जहाजबाट लागुऔषध काठमाडौं लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बुद्ध एयरको जहाजमार्फत काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का २६ वर्षीय डेनी भनिने दनिल राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार जहाजमा चढ्ने बेलामा सुरक्षा चेकजाँच गर्दा राईले लुकाई छिपाई काठमाडौं लैजान लागेको लागुऔषध फेला परेको थियो । राईका साथबाट डाईजेल्याब १५, लुपिजेसिक १५, फेनारगन १५ र एभिल १५ एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध बरामद भएको डीएसपी श्रेष्ठको भनाइ छ ।

पक्राउ परेका राई विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्