विराटनगर भन्सारबाट ३१ अर्ब राजस्व सङ्कलन


 


विराटनगर,  जेठ ११

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

दश महीनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा सो अवधिमा रु २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजश्व सङ्कलन गरेको थियो ।
यो पनि पढ्नुहोस्

गत वर्षको तुलनामा चालू आवको सो अवधिमा रु छ अर्ब ४१ करोड १५ लाख ९० हजार बढी राजश्व सङ्कलन भएको हो । राजश्व सङ्कलनको स्थिति हेर्दा गएको वर्षमा साउन र भदौ महीनाबाहेक प्रत्येक महीनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको देखिन्छ भने चालू आवमा साउन महीनामा १००.६८ प्रतिशत र असोज महीनामा १३३.५६ प्रतिशत प्रगति भए पनि अन्य महीनामा राजश्व सङ्कलनमा गिरावट आएको देखिन्छ ।

लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न कार्यालयलाई बाँकी दुई महीनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न रु १० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजश्व उठाउनुपर्ने स्थिति छ । राजश्व सङ्कलनको स्थिति हेर्दा अब कार्यालयले दुई महीनामा रु छ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्