बजेटबाट निजी क्षेत्र उत्साहित, यसरी दिए ओली सरकारलाई धन्यवाद !


 


काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेश गरेका आर्थिक वर्ष २०७६/७७ को बजेटबाट निजी क्षेत्र उत्साहित देखिएका छन् ।

निजी क्षेत्रको संघसंगठनलाई नेतृत्व गर्दै आएका उद्योगी व्यवसायीले बजेटअघि आफूहरुले सुझावको रुपमा पेश गरेका धेरै बुँदाको सम्बोधन भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बजेटबाट निजी क्षेत्र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष मोरले भने–‘बजेटमा हामीले दिएका धेरै सुुझावहरुलाई समेटिएको छ । कार्यान्वयनको पक्ष पनि यस्तै भए हामी अझ उत्साहित हुन्छौ ।

उनले बजेटमार्फत निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखिएको र विशेष प्रोत्साहन गर्ने नीति लिइएको भन्दै सरकार र अर्थमन्त्रीलाई धन्यवाद दिए । ‘स्वदेशी उद्योगहरुलाई प्रोत्साहित हुने खालका कर व्यवस्था गरिएको छ। व्यक्तिगत आयकरमा पनि राम्रो व्यवस्था आएको छ ।’ उनले भने–‘निजी क्षेत्रलाई उत्साहित बनाउने खालको बजेट छ । हामी निरुत्साहित हुने खालका कुरा छैनन् । समग्रमा राम्रो बजेट आएको छ ।’

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले पनि राम्रो बजेट आएको प्रतिक्रिया दिए । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलाई विशेष प्राथमिकता दिएको छ बजेटले । पर्यटन प्रवद्र्धनको कुरामा पनि बजेट राम्रो छ ।’ उनले भने–‘निर्यातलाई प्राथमिकता दिइएको छ । समग्रमा बजेट राम्रै देखियो ।’ उनले पनि निजी क्षेत्रका सुझावहरु समेटिएका उल्लेख गर्दै बजेटबाट निजी क्षेत्र उत्साहित बनेको बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्