भवन भत्किँदा १० जनाको मृत्यु


 


नैरोवी (केन्या), १८ वैशाख । केन्याको राजधानी नैरोबीमा शुक्रबार आएको मुसलधारे पानीपछिको बाढीका कारण एउटा छ तले घर भत्किँदा यसभित्र परेका १० जनाको मृत शरीरलाई शनिबार उद्धार गरिएको छ ।

एकजना महिला र एक बालकसहित शुक्रबारको मुसलधारे वर्षाका कारण नैरोवीमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १७ पुगिसकेको उद्धारमा संलग्न केन्याली अधिकारीले बताएका छन् ।

दशजनाको मृत शरीरलाई उद्धार गरिएको र दर्जनौँ मानिस घाइते भएको उक्त घरको भग्नावशेषलाई केन्याली प्रधानमन्त्री उहुरु केन्याताले शनिबार निरीक्षण गर्नुभएको छ ।

दुई वर्ष पहिले निर्माण गरिएको उक्त घरमा करिब १५० परिवार बसोबास गर्दै आएका थिए । उक्त घरमा बस्दै आएका र घटनामा घाइते भएका ८० जना मानिसको स्थानीय अस्पतालहरुमा उपचारपछि घर फर्किएका केन्याका गृहमन्त्री जोसेफ नाइसेरीले बताउनुभयो ।

नैरोबीको अन्य ठाउँमा बाढीमा परी सातजना अन्य केन्याली नागरिकले जीवन गुमाएको सरकारले बताएको छ ।

 

प्रकाशित मिति: १९ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्