ज्येष्ठ नागरिक आठ महिनादेखि सामाजिक सुरक्षाभत्ताबाट वञ्चित


 


सप्तरी बर्साइन नगरपालिकाको लापरबाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिला सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिला विगत आठ महिनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् ।

गत वर्षको मंसिरदेखि सामाजिक सुरक्षा भत्ताबापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताए । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ ।

‘सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिएँ,’ बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भने, ‘श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।’ भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उनको गुनासो छ ।

मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताए ।

अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ ।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्