एक जाेर जुत्ताको मूल्य ४ करोड ८३ लाख ८० हजार रुपैयाँ !


 


काठमाडाैँ । एक जोर जुत्ताको मूल्य बढीमा कति पर्ला ? १० हजार, २० हजार या ५० हजार । तर नाइकका सह–संस्थापकले डिजाइन गरेका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ ।

नाइकका सह संस्थापकले डिजाइन गरेको खेलकूदमा प्रयोग हुने यो जुत्ता न्यूयोर्कको लिलाममा राखिएका एक सय जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जुत्ता हो । यो चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ ।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको यो जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर, क्यानेडेली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरेका थिए । साथै बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका थिए ।

जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह–संस्थापक बील बाओरम्यानले यो डिजाइन गरेका थिए । यो किसिमको डिजाइनमा जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकूदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो ।

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको बताइएको छ । लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए । उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन् ।

यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ । त्यो मूल्यमा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता थियो जुन सन् २०१७ मा बिक्री गरिएको थियो ।

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्