बग्दाद अाक्रमणमा ७५ को मृत्यु


 


आइएसद्वारा आक्रमणको दाबी

बग्दाद, १९ असार

इराकको राजधानी बग्दादको ब्यापारिक इलाकामा आइतबार बिहान सबेरै भएको एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा ७५ व्यक्तिको मृत्यु भएको छ । राजधानी बग्दादमा यस बर्षमा भएका एकल आक्रमणहरुमा यो सब भन्दा भीषण आक्रमण भएको बताइएको छ ।यस आक्रमणमा परी अन्य १३३ जना घाइते भएका छन् । सो विस्फोटन बग्दादको कर्रादा क्षेत्रमा रहेको सडकमा भएको थियो ।

मुसलमान समूदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै व्यक्तिहरुको किनमेल गर्न जान आवातजावत सडकमा सो विस्फोटन गराइएको थियो । यस कारबम आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी जिम्मा लिएको छ ।

इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन ।

इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्णरुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ ।

सरकार विरोधी यी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो ।इराकी सुरक्षाबलले गत मेबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो ।

रासस÷एएफपी

प्रकाशित मिति: १९ असार २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्