मस्जिदमा आत्मघाती हमला, २० को मृत्यु


 


बग्दाद, असार २४

मध्य बग्दादमा शुक्रबार भएका बम हमलाहरुमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार छ । मध्य इराकी जिल्ला सलाउद्दिनमा शुक्रबार भएको आत्मघाती बम हमलामा २० जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

बग्दाद नजिकैैको एक मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका सिया मुस्लिम समुदायाका नागरिकमाथि लक्ष्यगरी सो आत्मघाती बम हानिएको थियो । त्यसमा परी २० जनाको ज्यान गएको छ भने अरु ७० जना घाइते भएका छन् ।

मारिनेमा उक्त मस्जिदमा प्रार्थनाका लागि गएका सर्वसाधारण नागरिक परेका छन् । शुक्रबार बिहानै उक्त मस्जिदमा सो हमला भएको थियो । हमलामा परी ठूलो सङ्ख्याका नागटरक घाइते भएका र वरपरका पसल एवम् घरमा बसेका नागरिक पनि घाइते भएका बताइएको छ ।

बग्दाद नजिकैको सलाउद्दिन भन्ने ठाउमा रहेको मस्जिदमा सो हमला भएको थियो । शुक्रबार मुस्लिम समुदायले रमादान महिनाको ब्रत सकेपछिको यस समयमा सो हमला भएको छ । आक्रमण गरिएको सिया मुस्लिम समुदायका नागरिकको मस्जिद हो । उक्त मस्जिदमा यसअघि पनि गतवर्ष यस्तै आत्मघाती आक्रमण भएको थियो ।

यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यस्तो प्रकारको हमला यसअघि पनि लामो समयदेखि उक्त क्षेत्रमा आइएसले गर्दै आएको छ । त्यस्तै यस हमालमा आइएसको हात हुनसक्ने पनि अनुमान गरिएको प्रहरीले जनाएको छ । जसका कारण पछिल्लो समयमा इराकमा ठूलो जनधनको क्षति हुन पुगेको छ ।

इराकमा हालैमात्र पनि यस्तो हमला भएको थियो । उक्त हमलामा परी २५० जनाभन्दा पनि बढी नागरिकको ज्यान गएको थियो । यस हत्याकाण्डपछि इराकमा सरकारले तीन दिनसम्म शोकको घोषणा गरिएको थियो ।
रासस÷एएफपी

प्रकाशित मिति: २४ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्