Deshko News
९ आश्विन २०८०, मंगलबार

सातौँ राष्ट्रिय खेलकुद मङ्सिरमा



काठमाडौँ, साउन ३

दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १०६औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेको हो ।

राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौँ राष्ट्रिय खेलकुद मङ्सिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । यसअघि पहिलो पटक सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मङ्सिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोस्रो पटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।

त्यस्तै बैठकले १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ । भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२औँ सागको समापनका अवसरमा नेपाललाई १३औँ साग आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको थियो । रासस

प्रकाशित मिति: ३ श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News