एसीसी महिला प्रिमियर कप : कतारमाथि नेपालको सानदार जित
काठमाडौँ। मलेसियामा आज (बुधबार) बाट सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले सुखद सुरुआत गरेको छ। मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारविरुद्ध ८ विकेटको जित हात पारेको हो । कतारले दिएको ७८ रनको मध्यम लक्ष्य नेपालले १०।५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा विन्दु रावलले ३० बलमा ४ चौकाको सहयोगमा ३३ रनको इनिङ खेलिन्। उपकप्तान पूजा महतो २६ बलमा ४ चौकाको सहयोगमा २८ रनमा अविजित रहँदा कप्तान इन्दु बर्माले ६ रन बनाइन्।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको मध्यम योगफल तयार गरेको थियो। कतारका लागि ओपनर गितरुड चण्डिरुले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५ रन जोडेकी थिइन्। कप्तान आयसाले ११ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। कविता कुवँर, रिया शर्मा र पूजा महतोले समान १ विकेट लिइन्। नेपालले प्रतियोगिताको दोस्रो खेलमा भुटानसँग बिहिबार खेल्नेछ। एसिया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल सहित १८ देशको सहभागीता रहेको छ । सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । एसीसीका अनुसार नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहँदा समूह ‘ए’मा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन् । समूह ‘बी’मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह ‘सीमा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा जेठ २३ गते हङकङसँग खेल्नेछ । हरेक समूहको शीर्ष २ मा रहने टोलीहरुका बीचमा जेठ २७ गते क्वार्टरफाइनल खेल हुनेछ ।
चार क्वार्टरफाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कपमा स्थान बनाउने छन् । जेठ २९ मा सेमिफाइनल हुने प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







