नेपालको शानदार सुरुआत, कतारमाथि आठ विकेटको जित
काठमाडौँ, २० जेठ । नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी सुरुआत गरेको छ ।
मलेसियाको कोलेज टुङ्कु जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो।
जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उपकप्तान पूजा महतो २८ रनमा अविजित रहिन् भने कप्तान इन्दु बर्माले ६ रन जोडिन्।
कतारका लागि शाहरीनवाब खान र खादिजा अहमदले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको कतार १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो। कतारकी ओपनर गितरुडु चण्डिरुले सर्वाधिक २५ रन बनाइन्। कप्तान आयसाले १० रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट लिइन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले एक–एक विकेट हात पारिन्।
समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार भुटानसँग खेल्नेछ। यस समूहमा नेपाल, कतार, हङकङ र भुटान रहेका छन्।
१८ देश सहभागी प्रतियोगितामा टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मङ्गोलिया छन्। समूह ‘बी’ मा यूएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया रहेका छन् भने समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर छन्।
प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनलका विजेता टोलीले एसीसी महिला एसिया कपमा स्थान बनाउनेछन्। यसअघि मलेसियामै सम्पन्न एसियन गेम्स छनोट प्रतियोगिताबाट नेपाल बाहिरिएको थियो।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







