चट्याङले ४० काे मृत्यु


 


नयाँदिल्ली, साउन १६

पूर्वी भारतको उडिसा राज्यमा चट्याङले लागेर ४० जनाको मृत्यु भएको छ। ३५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
चट्याङ परी एकै दिनमा उडिसा राज्यमा यति धेरै सङ्ख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक भएको सरकारी सञ्चार प्रशारण अलइन्डिया रेडियोले जनाएको छ। सरकारी पदाधिकारीका अनुसार एक्कासी परेको चट्याङले खेतमा धान रोप्दै गरेका केही किसानलाई भेट्टाएको थियो।

उडिसा राज्यमा अन्य दैवी प्रकोपका कारणभन्दा चट्याङले बढी मानवीय क्षति हुने गरेको बताइन्छ। विगत पाँच वर्षभित्र चट्याङ्कै कारण उडिसामा एक हजार पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक छ। गत दुई महिनामा भारतका उत्तरी राज्यहरुमा चट्याङले लागेर मृत्यु हुने मानिस संख्या बढेको छ।

गत २२ जुनमा बिहार, झारखण्ड र उत्तरप्रदेश राज्यमा रातभरि परेको चट्याङले एक सय जनाको ज्यान गएको थियो।
भारतीय राष्ट्रिय अपराध अभिलेख केन्द्रका अनुसार सन् २००५ यता चट्याङका कारण प्रत्येक वर्ष कम्तिमा दुई हजार नागरिकले ज्यान गुमाउँछन्। भारतमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनमा उल्लेख्य मात्रामा चट्याङ पर्नेगर्छ।

प्रकाशित मिति: १६ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्