रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन


 


1471090194334_Chairman_Kp_Oli_KTM_160813_DSC04128काठमाडौँ, २९ साउन

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र यहाँ आज प्रदर्शन गरिएको छ । प्रदर्शनीको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष ओलीले रामप्रसाद राईले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि असाधारण छाप छाडेर गएको चर्चा गर्दै उहाँको सम्मान हुनुपर्ने बताउनुभयो ।

वास्तविक योद्धालाई सहिद घोषणा गर्न नसकिएको भन्दै उहाँले केहीले जथाभावीरुपमा सहिद घोषणा गर्नाले सहिदको अपमान भएको बताउनुभयो । उहाँले आफूले वास्तविक सहिद पहिचान गर्न समिति बनाएर काम गर्न थालेपनि सरकार परिवर्तनपछि त्यो पूरा नभएको बताउँदै देशका लागि ज्यान दिनेका लागि न्याय र सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले आफ्नो सरकारलाई हिँड्न खोज्दा हरेक पाइला अल्झाउन कोसिस गरे पनि विकासका मार्गचित्र प्रस्तुत गरेको बताउनुभयो । “हामी माथि केही शक्तिले हमला गरेर नीति, कार्यक्रम र बजेट नल्याउन दिने प्रयास भइरहेको थियो”– उहाँले भन्नुभयो, “तर पनि त्यसका बाबजुद हामीले ल्याएरै छाड्यौँ ।”

उहाँले अहिलेको सरकारको गठबन्धन अनुचित र अनौठो बताउँदै अहिलेका प्रधानमन्त्री राजनीति गर्नेभन्दा सेलिब्रिटी बन्न खोजेको आरोप लगाउनुभयो । भोजपुर–काठमाडाँै सम्पर्क मञ्चको आयोजनामा भएको प्रदर्शनीमा रामप्रसाद राई स्मृति प्रतिष्ठानका रामकुमार वान्तवाले रामप्रसाद राईलाई सहिद वा विभूति घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल टेलिभिजनले बनाएको उक्त वृत्तचित्रको निर्देशन दीपक समीरले गर्नुभएको छ । विसं १९६५ मा भोजपुरको बासिखोरामा जन्मिनुभएका राई २००७ सालको क्रान्तिमा नेपालको पूर्वी क्षेत्रको कमान्डरको रुपमा रहनुभएको थियो । विसं २००८ मा उहाँको रसुवाको झुङ्गा भन्ने ठाउँमा तत्कालीन सरकारले हत्या गरेको थियो ।

वृत्तचित्र हेर्न नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राईको पनि उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति: २९ श्रावण २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्