अल्पायुमै बितिजाने यी पाँच गायक :जसले चर्चित गीत गाए, लोकप्रिय भए तर छोटो आयुमै गए…


 


काठमाडौँ, भदौ १०

प्रतिभा हुनेहरुले उमेरमै आफ्नो छाँट देखाउँछन्। संसारका ठूला दार्शनिक, साहित्यकार, वैज्ञानिकहरुले ३० वर्ष नकाट्दै आफ्नो प्रतिभा साबित गरेका उदाहरण पाइन्छन्। नेपाली सङ्गीत क्षेत्रमा कलिलो उमेरमै प्रतिभावान देखिएका धेरै गायक छन्। तर, त्यसमा पनि केही नाम छन्, जो कलिलो उमेरमा चर्चाको शिखरमा पुगे, श्रोताको मन जिते तर अल्पायुमै संसार छाडे।

१. लोकबहादुर क्षेत्री, ३२ वर्ष

आमा रुँदै गाउँबेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा !

चालिसको दशकमा रेडियो नेपालमा बज्ने र श्रोताले अनुरोध समेत गर्ने यो गीतका गायक लोकबहादुर क्षेत्री ३२ वर्षमै बिते। नवलपरासीको बर्दघाटमा भएको मोटरसाइकलमा दुर्घटनामा परेर उनको निधन भएको थियो। एफएम रेडियो र युट्युबको चल्ती नभएको समयमा पनि उनका गीत गाउँगाउँमा श्रोताहरु गुन्गुनाउँथे। उनका ‘छमछम नाचिदेऊ निहुरेर’, ‘न्याउली रुँदै के भन्छ, आधा सन्च, आधा बिसन्च’ लगायत गीत लोकगीतप्रेमीबीच खुब रुचाइएका थिए। क्षेत्रीका ‘गाईको चरन’ (२०४३), ‘रातो घाम’ (२०४६), ‘नवलपुरे दाइ’ (२०४६) ‘औंठी हीराको’ (२०४७) जस्ता अल्बमहरू उत्पादन भएका थिए।

२. सोम बज्राचार्य, ४६ वर्ष

पारिबाट को आयोरु
सालको पात बजाउँदै
हितकारी मायालाई बोलाउँदै

पोखराका सोम बज्रचार्यको ‘हितकारी माया’ लोकगीतका पारखीदेखि सुगम सङ्गीतका श्रोतासम्मले रुचाएको गीत हो। वज्राचार्य अर्का गायक तथा सङ्गीतकार सरोजगोपाल बज्रचार्यका भाइ पनि हुन्। उनका लोकलयमा आधारित भजन र अन्य गीत श्रोताबीच रुचाइएका थिए। वज्राचार्यले भजन गीतहरुका तीन वटा छुट्टाछुट्टै शृंखला एल्बम पनि निकालेका थिए। ‘हत्केलाले छेकिएको घाम’ उनको रुचाइएको गीति एल्बम हो। वज्रचार्य ४६ वर्षको उमेरमा बितेका थिए।

३. अरुण थापा, ४७ वर्ष

ऋतुहरुमा तिमी हरियाली वसन्त हौ
नदीहरुमा तिमी, पवित्र गंगा हौ

अरुण थापाको पनि ३० वर्ष पुग्दा नपुग्दै श्रोताहरुबीच नाम कहलिइसकेको थियो। २०४० को दशकमा उनका गीतले श्रोताहरुलाई नयाँ मिठास दिएका थिए । थापाका ‘भुलुँ भुलुँ लाग्यो मलाई’, ‘चोट के होरु व्यथा के होरु’ जस्ता गीत अत्यन्तै रुचाइएका थिए। स्वरमा करुणा भरिएको उनको आवाज त्यतिबेलाका अरु चल्तीका गायकहरुको भन्दा भिन्दै थियो। अरुण थापाको अल्पायुको कारक पनि उनको अव्यवस्थित जीवन र खानपिन नै मानिन्छ। अत्यधिक रक्सी सेवनले उनको स्वास्थ्य बिग्रेपछि २०५६ सालमा ४७ वर्षको उमेरमा उनी बितेका थिए।

४. कुल पोखरेल, २३ वर्ष

यसपालि दसैँमा ठुल्दाइ आउने रे
बाबालाई रेडियो, आमालाई सारी, भाइलाई घडी
अनि मलाई जिनको पाइन्ट ल्याउने रे

नयाँ शैलीको पप गायकका रुपमा परिचय बनाउँदै गरेका कुल पोखरेल २३ वर्षको उमेरमै बिते। उनी ०३८ असोज ५ गते नवलपरासीको सुनवलमा जन्मिएका हुन्। पप सङ्गीतमा आउने एउटा पुस्ताको स्वच्छन्दता सङ्गीतको शैलीमा मात्रै नभएर जीवनशैली र खानपानमा पनि विस्तारित थियो। गायक कुलको छोटो आयुको कारण पनि उनको लागू–लत भएको बताइन्छ। कुलसँग सङ्गत गर्नेहरु उनी राम्रो सङ्गीत गर्न नपाएकोमा पछिल्ला दिनमा तनावमा भएको बताउँछन्। छोटो समयमा राम्रो प्रतिभा प्रदर्शन गर्दै गरेका कुलले २०६१ सालमा आफैले आत्महत्याको बाटो रोजेका थिए। कुलको छोटो जीवन उनकै आदतको परिणति थियो।

५. खेमराज गुरुङ, ४२ वर्ष

वारि जमुना, पारि जमुना
जमुनाको फेदैमा, मनकामना

यो गीत बजारमा आउनासाथ खेमराज गुरुङको चर्चा एकाएक चुलिएको थियो। पूर्वेली हाक्पारे शैलीमा गाइएको यो गीत एक कान–दुई कान–मैदान भनेजस्तो देश–विदेशका नेपाली श्रोताहरुसम्म फैलियो। स्थानीय सहरहरूमा हुने महोत्सवदेखि विदेशमा हुने कन्सर्टसम्म उनी ‘वारि जमुना’ गीत लिएर पुग्ने अवसर पाए । ४२ वर्षको उमेरमा गायक गुरुङको निधन भएको छ। खानपानको हेलचक्राइँका कारण उनको स्वास्थ्य बिग्रेको बताइन्छ। उनी जन्डिसबाट ग्रस्त हुँदा समेत रक्सी सेवन छाडेका थिएनन्। संखुवासभाको खाँदबारीमा जन्मिएका गुरुङले पूर्वेली लोकभाकाबाट लोकप्रियता आर्जन गरेका थिए।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्