लेबनानमा नेपाली कामदार प्रतिबन्ध


 


लेबनान, भदौ ९

वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य शर्त’का रुपमा अघि सारेको कार्यविधी आफ्नो मुलुकको श्रम कानूनका बिपरित रहेको भन्दै लेबनान सरकारले नेपाली कामदारलाई श्रम अनुमति दिन नसकिने जनाएको हो ।

लेबनानको श्रम मन्त्रालयले आफ्नो वेवसाइटमा शुक्रबार मात्रै यो सूचना राख्दै ‘अर्को व्यवस्था नहोइन्जेल कामदार अनुमति नदिइने’ जानकारी गराएको हो । यो सूचनाबारे लेबनान मामला हेर्ने इजिप्टस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयलाई आइतबार जानकारी गराइसकेको छ । लेबनानमा झण्डै १० हजार नेपाली कामदार रहेकोमा ९ हजार महिला कामदार छन् ।

सरकारले तय गरेको कार्यविधीमा कामदार मगाउने एजेन्सीले दश हजार डलर एकमुष्ट धरौटी राख्नु पर्ने र कामदार ल्याउँद जनही १ हजार डलर थप धरौटी राख्नुपर्ने, बिमा सुरक्षा तथा अन्य सेवा–सुविधाका हकमा करार सुविधाको शर्तमा उल्लेख गर्नुपर्नेलगायतका नियम तय गरिएको छ । नेपाल सरकारले लेबनानसँग श्रम सम्झौता गर्ने बहानामा पटकपटक प्रतिबन्ध लगाउादै र खोल्दै आएको छ ।

लेबनानमा रहेकामध्ये बिचल्ली अवस्थामा रहेका र घरफिर्तीका लागि आश्रय लिइरहेका झण्डै २ सय युवतीलाई गत दुई बर्षमा नेपाल फर्काइएको थियो । अहिले पनि १ सय जति नेपाली युवती घरफिर्तीका लागि प्रतीक्षारत छन् ।

यसअघि, कामदार हकहितमा सुरक्षित प्रकृया अपनाउने मुलुकका रुपमा चिनिएको फिलिपिन्सले समझदारी पत्रमा हस्ताक्षर(एमओयु) नगरी आफ्ना कामदार लेबनान नपठाउने भन्दै आफैं श्रम अनुमतीमा रोक्का गरेको थियो । श्रीलंका र इथियोपियाले पनि श्रम सम्झौता नगरी कामदार पठाउन नसकिने भन्दै लेबनानका लागि आफैं श्रम अनुमती रोक्का गरेका छन् ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्