अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट


 


काठमाडौं, पुस ४
सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ ।

सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय १४ बीओपी थप्ने निर्णय गरेको हो । सरकारले हालै सीमा विवाद भएको कालापानी र लिम्पियाधुरासहित भारततर्फ १ सय १० र चीनतर्फका चार गरी १ सय १४ स्थानमा बीओपी थप्ने भएको हो ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल भारत र नेपाल चीन दुवैतर्फका सीमा क्षेत्रमा गरी १ सय १४ वटा बीओपी थप्ने निर्णय भएको जानकारी दिए । हालसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १ सय ७ वटा बीओपी छन् । अब थप हुने १ सय १४ बीओपीसहित नेपालतर्फको सशस्त्र प्रहरीको बीओपीको संख्या २ सय २१ पुग्नेछ ।

चीनतर्फ दार्चुलाको लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथांकामा बीओपी स्थापना हुनेछ । यसअघि चीनसँगको सीमा क्षेत्रमा स्थायी बीओपी राखिएको थिएन । स्थायी बीओपी नराखे पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोरला नाकाको सुरक्षामा जिल्लाबाटै सशस्त्र प्रहरी खटाइँदै आइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्