अन्तरजातीय विवाहपछि धोका: श्रीमानले नहेरेपछि सुत्केरीको बिचल्ली


 


गुल्मी, पुस ८
मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् । प्रेम–सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छिन् । पति बेपत्ता छन् ।

सडकमा ज्याला–मजदुरी गर्दागर्दै गत २३ मंसिरमा उनले छोरी जन्माइन् । बडिगाड खोलाको चिसो सिरेटोले १५ दिने शिशुसँगै विपना पनि थला पर्दै गएकी छिन् । घरले नहेरेपछि र माइती विपन्न अवस्थाको भएकाले स्थानीय शिव सुनारको घरमा एउटा कोठा लिएर उनलाई राखिएको छ । छिमेकी महिलाले खानेकुराको सहयोग गरिरहेका छन् । सुत्केरीको दयनीय अवस्था हेर्न नसकेपछि आफूहरूले सहयोग जुटाएर केही खाद्यान्न संकलन गरेको इन्द्रेगौडाकी गीता खरालले बताइन् ।

विपना र राजु बस्नेतबीच अन्तर्जातीय विवाह भएको हो । गत वर्षको फागुनमा मदाने गाउँपालिका–६ का बस्नेतले विपनालाई उनकै घरबाट भगाएर बिहे गरेका थिए । उनीहरू घरबाट भागेर बुटवल गए । त्यतै कहिले होटेल त कहिले सडकमा ज्याला–मजदुरी गर्न थाले । जेठसम्म उनी पतिसँगै थिइन् । राजुले विपनालाई केही समय थापा थर भन्न लगाएर आफ्नो घर र मावलीमा समेत लगे । घरमा उनले परिवारलाई थापाकी छोरी भनेर परिचय गराए ।

तर, परिवारले हप्काएपछि उनी पुनः विपनालाई साथमै लिएर तम्घासदेखि बुटवलका विभिन्न स्थानमा ज्याला–मजदुरी गर्न थाले । वैशाखमा विपनाको गर्भ रह्यो । त्यसपछि राजुले श्रीमतीलाई हेला गर्न थाले । दुईबीच मनमुटाव बढ्न थाल्यो । झगडा भयो । उनले विभिन्न बहानामा श्रीमतीलाई कुटपिट गर्न थाले ।

विपनाले आफूलाई घरमा पठाइदिन अनुरोध गरिन् । तर, राजुले मानेनन् । ‘तँलाई गाउँ पठाउँदिनँ । दलित भन्ने थाहा पाएमा मेरो दाजुभाइले घर निकाला गर्छन्’ भन्दै आफूलाई घर पठाउन नमानेको विपनाको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टोपलाल अर्यालले लेखेका छन।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्