१ सय २२ चिनियाँ नागरिक पक्राउ, नेपालमा बसेर चीनमा आर्थिक अपराध


 



काठमाडौं, पुस ८
नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।

चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

तर, यो अभियान अभैm जारी रहने प्रहरी अधिकारीले जनाएका छन् । ‘चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’

बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ ।
प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि तयार पारेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए । नेपालबाहेक फिलिपिन्स, मलेसिया, सिंगापुरलगायत पूर्वी एसियाली देशहरूमा अपरेसन गर्न चिनियाँ प्रहरी एकैपटक पुगेको छ । यसका लागि नेपाल र चीनका अधिकारीहरू तीन महिनादेखि तयारीमा थिए ।

नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृह मन्त्रालयको तयारी छ । लगत्तै, नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन पुर्‍याउन उतैबाट चार्टर्ड विमान ल्याइँदै छ । स्वदेशमै लगेर थप अनुसन्धान गर्ने चीनको तयारी छ ।

नेपालमा बसेर चीनमा अपराध गर्ने प्रवृत्ति बढेपछि चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धि गर्ने तयारी गरेको थियो । तर, त्यसले तिब्बती शरणार्थीलाई समेत समेट्ने भन्दै विरोध भएपछि सहमति हुन सकेन । ‘सन्धि भएको अवस्थामा उनीहरूको सुपुर्दगी नै हुन्थ्यो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत चीन पठाउन लागिएको हो, यसले चिनियाँहरूको आपराधिक गतिविधि पनि नियन्त्रण हुने अपेक्षा छ ।’

चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चार वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । सो निर्णयले नेपालमा चिनियाँ पर्यटकको आगमनसँगै अपराध पनि बढ्न थालेको छ । साथै, भिसा शुल्कबापत करोडौँ रुपैयाँ पनि राज्यले गुमाएको छ ।

चीनजस्तो धनी देशले नेपालीसँग भिसा शुल्क लिने, तर नेपालीले भिसा शुल्क नलिने व्यवस्था उपयुक्त नभएको अध्यागमन अधिकारीहरू बताउँछन् । ‘पर्यटन वर्षलगत्तै भिसा शुल्क नलाग्ने व्यवस्था हटाउनेबारे छलफल भइरहेको छ,’ एक अधिकारीले भने, ‘निःशुल्क भिसाकै कारण मात्र खासै चिनियाँ पर्यटक बढेका होइनन्, बरु यसले समस्या बढाएको छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ पक्राउ परिसकेका छन् । उनीहरूमध्ये धेरैजसो डलर तस्करीमा संलग्न थिए । त्यस्तै, सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

२०६० को आसपासदेखि नै नेपालमा चिनियाँहरूको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न हुने गरेको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । पछिल्लो समय डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ ।

अहिले ह्याकिङ, मानव तस्करी तथा लागुऔषधमा समेत उनीहरूको संलग्नता देखिएको छ । अझै नेपाललाई आधारभूमि बनाएर उनीहरूले इन्टरनेटमार्फत समेत संगठित आर्थिक अपराध गर्दै आएका छन् ।

बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरूमा चिनियाँहरू सबैभन्दा धेरै छन् । पछिल्लो वर्ष उनीहरूको संख्या आश्चर्यजनक रूपमा बढेको प्रहरी अधिकारीहरू बताउँछन् । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा आर्थिक अपराध गरिरहेका छन् ।

बिहेका नाममा नेपाली युवतीलाई चीनतर्फ लग्न थालेको अवस्थामा गत १२ भदौमा प्रहरीले चार चिनियाँलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे  । उनीहरूले एकै दिन एकैछिनमा तीन करोड रुपैयाँ एटिएमबाट निकालेका थिए । त्यसयता सुन र लागुऔषध तस्करीमा संलग्न दुई चिनियाँ समूह पक्राउ परिसकेका छन् ।

सुन र डलर तस्करीमा चिनियाँहरूको संलग्नता बढी देखिएको छ । आउँदा अवैध सुन लिएर आउने र फर्कँदा डलर लैजाने प्रवृत्ति देखिएको प्रहरी सहप्रवक्ता उमेशराज जोशी बताउँछन् । पछिल्लो समय नियमित रूपमा सुनसहित चिनियाँहरू पक्राउ पर्दै आएका छन् । चिकित्सा क्षेत्रमा समेत चिनियाँहरूले अपराध बढाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले १६ फागुन २०७४ मा १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

नेपालमा अनुमतिविना नै अस्पताल चलाएको भन्दै ठमेलको एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धको चाइना ग्रेटवाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ परेका थिए । अहिले पनि कतिपय चिनियाँहरू अनधिकृत रूपमा अस्पताल सञ्चालन गरेर बसेको उजुरीमा सिआइबीले अनुसन्धान गरिरहेको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्