कालापानी वार्ता दुई महिनापछि मात्रै, भारतले राख्यो यस्तो प्रस्ताव


 


काठमाडौं, पुस ९
भारतले कालापानीको विषयमा परराष्ट्र सचिवस्तरीय बैठक राख्ने नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिँदै आपसी सहमतिमा बैठकको मिति तोक्न प्रस्ताव गरेको छ । भारतले पठाएको पत्रअनुसार सरकारले सचिवस्तरीय बैठक अब दुई महिनापछि मात्रै सम्भव हुने निष्कर्ष निकालेको छ ।

माघ दोस्रो साता भारतका नयाँ विदेशसचिव हर्षवर्धन श्रींगलाले पदभार सम्हाल्ने र विदेशसचिवलाई ब्रिफिङ लिन नै करिब एक महिना लाग्ने पूर्वाभ्यासका आधारमा बैठक पछि धकेलिएको हो ।

सरकारले ४ मंसिरमा भारतलाई पत्र लेखेर मंसिर दोस्रो साता वा पहिलो साता बैठक बस्न सकिने उल्लेख गरेको थियो । नेपालले बैठक बस्न पठाएको मितिभित्रै जवाफी पत्र पठाउँदै भारतले आपसी छलफलबाट नयाँ मितिमा बैठक बस्न प्रस्ताव गरेको छ । त्यो मिति फागुनभन्दा अघि नहुने कूटनीतिक स्रोतको भनाइ छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रले भारतीय नयाँ विदेशसचिवले कार्यभार सम्हालेपछि बैठकको मिति तोक्न कूटनीतिक भाषामा प्रस्ताव गरिएको छ । भारतमा नयाँ विदेशसचिव हर्षवर्धन श्रींगलाले २० जनवरी (माघ दोस्रो साता) कार्यभार सम्हाल्दै छन् ।

त्यसपछि बैठकको मिति तय हुनेछ । नेपालले भारतको रोजाइअनुसार काठमाडौं वा दिल्लीमा बैठक गर्न सकिने व्यहोराको चिठी पठाएको थियो । चिठीमा बैठकको मिति डिसेम्बर पहिलो वा तेस्रो साता प्रस्ताव गरिएको थियो ।

भारतले १६ कात्तिकमा नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले सर्वदलीय छलफलका आधारमा ४ मंसिरमा भारतलाई चिठी लेखेको थियो । सरकारले २० कात्तिकमै विज्ञप्तिमार्फत कालीनदीलाई भारततिर गाभेर सार्वजनिक भएको भारतीय नक्सा मान्य नहुने उल्लेख गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्