चिसोको सकस : परालै सिरक, परालै डसना!


 


जनकपुरधाम, पुस ९
झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ। त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा।धनुषा लक्ष्मीनिया गाउँपालिका-७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए। छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ। उनलाई यतिबेला शीतलहरले हैरान पारेको छ।

आफ्नो खेत पनि छैन उनको। अर्काको खेतबाट माँगेर ल्याएको पराललाई जाडोमा ओढ्ने–ओेछ्याउने बनाएर जाडो छल्ने प्रयास गर्छिन् उनी। पाँच वर्षअघि केही सहयोगीले बस्तीमा ओढ्ने पात्लो कम्बल बाँडेका थिए। सोही कम्बलको सहारामा छिन् उनी।मुसहरी टोलका करिब ८० परिवार अति विपन्न मुसहर चिसो परालकै भरमा रात कट्दै आएका छन्। श्रीवतीदेवी सदा चार छोराछोरीसँगै झुपडीमा परालकै ओछ्यानमा शीतलहर काट्दै छिन्। छोराछोरीका लागि केही न्यानो लुगा जोहो गर्न पाए जाडो काट्न सजिलो हुने बताउँछिन् उनी।

स्थानीय शत्रुधन महतो सरकारले विपन्न समुदायको सहयोगमा चासो नलिएको बताउँछन्। ‘कठ्यांग्रिदो चिसोमा कम्तीमा मुसहर बस्तीमा दाउरा र कम्बल वितरण गर्न सरकारले चासो देखाउनुपर्छ,’ महतोले भने। अभियान पनि सहर केन्द्रित नै रहेको हुँदा गाउँटोल र विपन्न परिवारलाई कसैले नहेरेको स्थानीयको गुनासो छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा मनिका झाले लेखेकी छिन।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्