सरकारले दुई तिहाइको समर्थन गुमायो, के गर्छ राजपा ?


 



काठमाडौं, पुस ९
संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ ।

सरकारलाई समर्थन फिर्ता लिने औपचारिक निर्णय भने समाजवादीले बुधबार केन्द्रीय कार्यकारिणी समितिबाट गर्दैछ । समाजवादीका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्।

मन्त्रिपरिषद्को बैठकमा सोमबार पेस गरेको संविधान संशोधनका लागि गृहकार्य गर्न सुझाव समिति बनाउने प्रस्ताव अस्वीकार भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपरेको यादवले बताएका छन्। उनले राजीनामा पत्रमा डेढ वर्षअघि भएको दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको प्रस्ट भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको मस्यौदा पेस गर्न ख्याति प्राप्त संविधानविद् या पूर्वन्यायाधीशको संयोजकत्वमा विज्ञ समिति बनाउनुपर्ने प्रस्ताव लगेका थिए। समिति ५ सदस्यीय हुने र त्यसले संविधानका समस्याहरू पहिचान गरेर सुझाव पेस गर्ने प्रस्ताव उनको थियो।

प्रस्ताव सरसल्लाहबिना प्रक्रिया नपुर्‍याई आएको भन्दै प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले कानुनमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

नेकपा र तत्कालीन संघीय समाजवादी फोरमबीच २०७५ जेठ १४ मा भएको दुईबुँदे सहमतिअनुसार फोरम सरकारमा सहभागी भएको थियो। सहमतिमा फोरमले उठाएका संविधान संशोधनसम्बन्धी विषय आपसी सहमतिका आधारमा सम्बोधन गर्ने उल्लेख छ।

तर १८ महिनासम्म पनि नेकपा र नेकपाको नेतृत्वमा रहेको सरकारले त्यो विषय सम्बोधन गर्न नचाहेको समाजवादी पार्टीको केन्द्रीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बताए। नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने नेकपाका कोही पनि नेता संविधान संशोधनको विपक्षमा नरहेको बताए।

‘‘हामीले संविधानका कुनै धारा अपरिवर्तनीय र असंशोधनीय भनेका छैनौं,’ उनले भने, ‘‘राजनीतिक तहमा छलफल र परामर्श गरेर त्यस्ता प्रस्ताव ल्याउनुपर्छ। फेस सेभिङ र पोलिटिकल स्टन्टका लागि यस्ता काम गर्नु हुँदैन।’ उनले कसैलाई पनि अन्याय नहुने गरी संविधान संशोधनको पक्षमा पार्टी र सरकार दुवै रहेको स्पष्ट पारे।

तत्कालीन संघीय समाजवादी फोरमले संविधानका केही अन्तरवस्तु संशोधन गर्नुपर्ने बताउँदै आएको थियो। नेकपाको मात्रै सरकार दुई तिहाइको नभएकाले त्यो बेला संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याउने भनेरै फोरम सरकारमा सहभागी भएको थियो।

फोरम सरकारबाट बाहिरिएसंगै सरकारले राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा सहभागी गराउने संकेत गरेको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले त्यसको संकेत गरेका छन् ।
राजपाले सरकारमा सहभागी हुने या समाजवादी पार्टीसँग मिलेर जाने भन्ने विषयमा अहिले नै टुंगो लागिनसकेको प्रतिक्रिया दिएको छ।

अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव र अनिल झाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छिट्टै पार्टीको बैठक बसेर निर्णय गर्ने प्रतिक्रिया दिए। कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्