उमेर हद नाघेका खड्कालाई न्याय परिषदमा सिफारिस


 


काठमाडौं, पुस ९
न्याय परिषद्को रिक्त सदस्य पदमा उमेर हद नाघेका लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई परिषद्मा सिफारिस गरिएको छ । संविधानले न्याय परिषद्का अध्यक्षको उमेर हद ६५ वर्ष तोकेको छ । सोहीअनुसार प्रधानन्यायाधीश अध्यक्ष रहने समितिको सदस्यको उमेर हद पनि ६५ वर्ष रहनुपर्नेमा ६५ वर्ष उमेर काटेका खड्कालाई संसदीय समितिले सदस्य पदमा सिफारिस गर्न लागेको छ ।

संसदीय सुनुवाइ समितिले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता खड्कालाई सिफारिस गरेको हो । निराला २०६२ पुस ११ देखि २०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए । न्याय परिषद्मा सिफारिस भएका खड्काको विषयमा संघीय संसद् संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले उक्त पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको जनाएको छ ।न्याय परिषद् सदस्यबाट परिषद्का सदस्य पदम बैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खड्काको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।

खड्का लामो समयदेखि जनकपुरमा रहेर वरिष्ठ अधिवक्ता भएर जग्गासम्बन्धी मुद्दामा बहस गरेका पुराना वकिल हुन् । यसअघि केही समय उनले महान्यायाधीवक्ताकोजिम्मेवारीसमेत सम्हालेका थिए । समितिले उजुरी प्राप्त भएपछि उजुरीकर्तासँग छलफल सकेपछि निरालासँग सुनुवाइ गर्नेछ । राजधानी दैनिकबाट

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्