पर्यटन बोर्डको सीईओमा १७ प्रतिस्पर्धी : बोर्डभित्रैबाट १० जनाको आवेदन!


 


काठमाडौं, पुस ९
नेपालको सार्वजनिक निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न १७ जना प्रतिस्पर्धी आएका छन्। बोर्डका सीईओ दीपकराज जोशीको सोमबारदेखि चार वर्षे पदावधि पूरा भएको र सीईओ छनोट उपसमितले मंगलबारसम्मको समय दिएर मागेको आवेदनमा बोर्डभित्रैबाट १० जनाले आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा जोशीसहित दुई जना वरिष्ठ निर्देशक, पाँच प्रबन्धक दुई वरिष्ठ अधिकृत छन्। बाँकी सात जना बोर्डबाहिरका छन्।

उपसमितिले २१ दिनको समय दिएर मागेको आवेदनमा मंगलबारसम्म बोर्डका अधिकृतदेखि वरिष्ठ निर्देशक र निवर्तमान सीईओ जोशीले पनि आवेदन दिएका छन्। बोर्ड बाहिरबाट भने अन्य सात जनाले आवेदन दिएको उपसमितिले जानकारी दिएको छ। पर्यटन बोर्ड सञ्चालक समितिले यस अघि जोशीलाई थप चार महिनाको अवधि थप गरेको भए पनि नेपाल पर्यटन बोर्ड २०५३ को ऐनले बढीमा चार वर्षका लागि पुनः नियुक्ति गर्न सक्ने व्यवस्था गरेको छ। यो प्रावधानका कारण चार महिना थप समय लम्याउँदा चार वर्षको अवसर गुम्ने भएकाले पुनः आवेदन दिएको र चार महिनाको समय थप आफूले नलिएको जोशीले जानकारी दिए। उनका अनुसार एक पटक पुनः प्रतिस्पर्धाबाटै जान सक्ने व्यवस्था बोर्ड ऐनले गरेकाले चार महिनाको छोटो अवधिलाई मात्रै जिम्मेवारी लिन नचाहेको उनको भनाइ छ। अहिले चार महिनाका लागि मात्रै नियुक्ति लिँदा स्वतः दोस्रो कार्यकाल गनिने र त्यपछि बोर्डमा फेरि आवदेन दिन नमिल्ने भएकाले पनि जोशीले खुला प्रतिस्पर्धामा नै रोजेका हुन्।

जोशीको पदावधि सकिएपछि अब नयाँ सीईओ नआएसम्म अब बोर्डकै वरिष्ठ निर्देशक नन्दनी लाहे थापाले निमित्तको जिम्मेवारी लिने भएकी छन्। उनलाई अब बस्ने बोर्ड बैठकले निमित्त सीईओको जिम्मेवारी दिने भएको छ। वरिष्ठताको हिसाबले पनि थापाले नै यो जिम्मेवारी पाउँदै छिन्।

सीइओको पदमा आवेदन दिनेमा बोर्डकै वरिष्ठ निर्देशकदकद्वय काशीराज भण्डारी र हिक्मतसिंह ऐर छन्। पाँच जना प्रबन्धकमा रोहिणीप्रसाद खनाल, नवीन पोखरेल, उदय भट्टराई, सूर्य थपलिया र लेखनाथ भुषाल छन्। यस्तै वरिष्ठ अधिकृतद्वय सन्तोषबिक्रम थापा र कुन्दन शर्मा (मि श्र)ले पनि सीईओ बन्न आवेदन दिएका छन्।

बोर्ड बाहिबाट प्रतिस्पर्धामा आउनेमा नेपाल भ्रमण वर्ष सचिवालय २०२० का सदस्यसचिव बच्चुनारायण श्रेष्ठ र ट्राभल व्यवसायमा लामो समय काम गरेका र पर्यटनमा चिनिएका विजय नेपाल पनि छन्। पर्यटन क्षेत्रमा परिचित छबी नबनाएका भए पनि योग्यताअनुसार आवेदन दिनेमा भने प्रमेश श्रेष्ठ, दीपक बस्ताकोटी, प्रसन्न अधिकारी, डा.विष्णुप्रसाद गौतम र धनन्जय रेग्मीसमेत रहेको बोर्ड स्रोतले जानकारी दिएको छ।

बोर्ड सीईओ छनोटका लागि अब एक साताभित्रै संक्षिप्त सूची तयार हुनेछ। यसका लागि बुधबार नै बोर्ड बैठक बोलाइएको छ। त्यसपछि प्रतिस्पर्धीलाई आआफ्नो योजनासहितको प्रस्तुतीकरण दिन लगाइनेछ। उत्कृष्ट प्रस्तुती र कार्यक्षमता देखाउन सक्ने मध्येबाटै तीन जनाको नाम बोर्ड सञ्चालक समितिमा पेस हुनेछ। सञ्चालक समितिले छनोट भएका तीन प्रतिस्पर्धीबाटै एक जनालाई बोर्ड ऐनअनुसार आगामी चार वर्षका लागि नियुक्त गर्ने प्रावधान छ। बोर्डको सीईओ छनोट एक महिनाभित्रै पूरा हुने पनि उल्लेख छ। अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्