Deshko News
१४ मंसिर २०८०, बिहिबार

मोडलिङको आशा देखाई युवतीलाई बलि दिन भारत लगिएको आशंका


 



काठमाडौं, पुस ११
युवतीलाई बलि दिन भारत लैजान लागेको आशंकामा पक्राउ परेको गिरोहले यसअघि अर्की एक युवतीलाई पनि बेपत्ता पारेको छ । ती युवतीलाई पनि भारत लगिएको हुन सक्ने प्रहरीको आशंका छ ।

भारत लैजानुअघि चौधरी थरकी ती युवतीको उचाइ र शरीरको बनावट नापिरहेको भिडियो प्रहरीको फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोही भिडियो देखाएर काठमाडौंकी २२ वर्षीया मोडललाई पनि उक्त गिरोहले मोडलिङ गर्न सहमत गराएर विराटनगर हुँदै जोगबनी नाका पुर्‍याएको थियो ।

भिडियोमा एक अपरिचित महिलाले युवतीको उचाइ इन्ची टेपले नापिरहेको देखिन्छ । युवतीको दुवै हातको पन्जा पनि नापिएको देखिन्छ । छिर्केमिर्के कुर्ता, पहेँलो सुरुवाल र रातो स्विटरमा रहेकी युवतीको नाप लिइसकिएपछि सेतो प्लेटमा युवतीको सम्पूर्ण विवरण लेखी कसैलाई देखाइएको छ । प्रहरीका अनुसार भिडियोमा देखिएकी युवतीको खोजी भइरहेको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पहिलेकी युवतीको भिडियो देखाएर अर्कीलाई सोहीअनुसार शरीरको नाप लिइने जानकारी दिएको बताए । ‘उद्धार गरिएकी युवतीलाई उनीहरूले एक युवतीको भिडियो देखाए । भिडियोमा युवतीको उचाइ नापिएको देखिन्छ ।

सोहीअनुसार पीडित युवतीको नापजाँच गर्न उनीहरूले निर्देशन दिएको देखिन्छ । ती युवती को हुन्, उनको अवस्था कस्तो छ ? यस विषयमा अनुसन्धान भइरहेको छ,’ बोगटीले भने ।

बलि चढाउन भारत लैजान लागेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार विराटनगरस्थित जोगबनी नाकाबाट नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश साह, दाङकी दिलकुमारी बुढामगर, सप्तरीका उमेश माझी, मोरङका दिलीप पोद्दार, सुनसरीका रञ्जितकुमार चौधरीलाई पक्राउ गरेको थियो ।

धादिङकी प्रेमा तामाङ पनि सोही दिन काठमाडौंबाट पक्राउ परेकी थिइन् । प्रहरीका अनुसार उनीहरूले पीडित युवतीलाई र्‍याम्पमा हिँडाउने बहानामा काठमाडौंबाट विराटनगर हुँदै जोगबनी नाकाबाट भारत लैजान खोजेका थिए । यही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

परिसरका एसपी अशोक सिंहले झुक्याएर जोगबनी नाकाबाट भारत लैजाने क्रममा उनीहरूलाई पक्राउ गरिएको बताए । उनले भने, ‘यिनीहरूले सुरुमा काठमाडौंमै मोडलिङ गर्ने पीडित युवतीलाई काठमाडौंमै सुटिङ हुने बताए । त्यसपछि विराटनगरमा हुन्छ भने । विराटनगर पुगेपछि भारत लैजान खोजे ।

घटना शंकास्पद देखिएपछि हामीले उनीहरूलाई जोगबनी नाकाबाट पक्राउ गरेका हौँ ।’ पक्राउपछि प्रहरीले उनीहरूबाट कालो रङको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको चाँदीको जन्तर, तान्त्रिक पूजा सामग्रीलगायत बरामद गरेको छ ।

युवती खोज्ने दलाललाई पाँच लाख पारिश्रमिक
गिरोहले युवती खोज्ने दलाललाई पाँच लाख रुपैयाँ पारिश्रमिक दिने प्रलोभन दिएको खुलेको छ । प्रहरीका अनुसार युवती खोज्ने जिम्मा धादिङ खनियावास–२ की २३ वर्षीया प्रेमा तामाङ र नवलपरासी कावासोती हुप्सेकोट–१ का २६ वर्षीय कृष्ण तामाङले पाएका थिए । कृष्ण र प्रेमा श्रीमान्–श्रीमती हुन् ।

सोही क्रममा प्रेमाले काठमाडौंमा मोडलिङ गरिरहेकी झापाकी २२ वर्षीया युवती फेला पारेकी थिइन् । युवतीको विवरण भने उनले श्रीमान्मार्फत गिरोहका सदस्यलाई जानकारी गराइन् । उनकै योजनामा युवतीलाई गिरोहका सदस्यले भेटेको र ५० हजार रुपैयाँ पारिश्रमिक दिने भनेका थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्