चन्द समूहमाथि अझ कठोर बन्न सुरक्षा समितिको निर्देशन


 


काठमाडौ, पुस ११
केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपामाथि अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले चन्द समूहलाई निस्तेज पार्न अझै सशक्त कारबाही थाल्न निर्देशन दिएको हो । बैठकमा नेपाली सेनाका रथी, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारी सम्मिलित थिए ।

‘चन्द समूहका नेता/कार्यकर्ता पक्राउ परेपछि उसले आफ्ना हिंसात्मक गतिविधिलाई सक्रिय बनाउन रणनीति परिवर्तन गर्न सक्छ, यसप्रति सचेत हुन आवश्यक छ,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चन्द समूह शान्तिपूर्ण र मूलधारको राजनीतिमा रूपान्तरण हुनुको विकल्प छैन, यो विकल्पमा नआए कारबाही भोग्न तयार हुनुपर्छ ।’

सरकारले २०७५ फागुन २८ गते चन्द समूहलाई प्रतिबन्ध लगाएको थियो। कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्