उपसभामुख तुम्बहाम्फेद्वारा रानीनामा दिन इन्कार, सभामुख चयनमा अन्यौलता


 



काठमाडौं, पुस ११
प्रतिनिधिसभाको सभामुख चयनमा अन्यौल भएको छ । निर्वाचन मिति तय गर्ने गरी शुक्रबार प्रतिनिधिसभा बैठक बस्न लागे पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएका कारण अन्योल बढेको हो।

उनले बिहीबारसम्म राजीनामा नदिएका कारण सभामुख निर्वाचन मितिसमेत धकेलिने सम्भावना उत्तिकै छ। एकातिर सभामुख कसलाई बनाउने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेतृत्वमा सहमति जुटिसकेको छैन भने अर्कोतिर उपसभामुख तुम्बाहाम्फेले समेत राजीनामा दिन इन्कार गरिरहेका कारण सभामुख चयन अन्योलमा पर्ने देखिएको हो।

तुम्बाहाम्फेले सदनको बैठक सञ्चालन गरेर सभामुख निर्वाचन मिति तोकेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख नेकपाको कायमै भएकाले सभामुखमा उसले दाबी गर्न नपाउने संविधानको व्यवस्थालाई उठान गर्ने निश्चित छ। संवैधानिक व्यवस्थाबमोजिम सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ।

त्यसैले पनि नेकपाले सभामुख पद लिने भएपछि सभामुखको निर्वाचन कार्यक्रम तयार गर्नुअघि उपसभामुखले राजीनामा दिनुपर्छ। सभामुखमा नेकपाले उमेदवारी दिन उसको कोटाबाट उपसभामुख भएकी तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ।

उपसभामुखले राजीनामा नदिएमा शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन मिति तोक्ने कार्य पर सर्ने सम्भावना रहेको संसद् सचिवालय स्रोतको दाबी छ। तर, शुक्रबार तुम्बाहाम्फेले राजीनामा दिइन् भने सभामुख निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुख तुम्बाहाम्फेले राजीनामाको विषयमा केही बताउन नचाहे पनि शुक्रबार प्रतिािधिसभा बैठक बस्ने र सो बैठकले सभामुख निर्वाचन मिति तोक्ने बताएकी छन्।

उपसभामुखले राजीनामा गरेको अवस्थामा शुक्रबारको प्रतिनिधिसभा बैठक ज्येष्ठ सदस्यले चलाउनुपर्नेछ। संसद् नियमावलीको व्यवस्थाबमोजिम उपसभामुखले दिएको राजीनामा बैठकमा ज्येष्ठ सदस्यले पढेर सुनाउनुपर्ने व्यवस्था छ। अहिलेको संसद्मा ज्येष्ठ सदस्यका रुपमा राजपाका नेता महन्थ ठाकुरलाई मानिएको छ। उनलाई सदन सञ्चालन गर्ने विषयमा बिहीबारसम्म कसैले पनि जानकारी दिएको छैन।

उनले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आयो भने राष्ट्रपतिसमक्ष शपथग्रहण गर्नुपर्ने हुन्छ। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएकै कारण पुस ४ गते बसेको बैठकमा सभामुखको निर्वाचन मिति तोक्ने काम नभएको हो। नागरिकमा खबर छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्