सरकारमा सहभागी हुने राजपाको संकेत, राख्यो यस्तो शर्त


 



काठमाडौं, पुस ११
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने संकेत देखाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै राजपाले सरकारमा सहभागी हुने संकेत देखाएको हो ।

समाजबादी बाहिरिएपछि सरकारले दुई तिहाई गुमाएको छ । दुई तिहाई गुमेपछि प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेको बताइएको छ । तर, राजपाले सरकारमा सहभागिताका लागि सर्त अघि सारेको छ ।

यसका लागि सरकार संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेको छ। संयोजक महतोले पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने बताए । उनका अनुसार संविधान संशोधन, सांसद रेशम चौधरीको रिहार्इ, मधेस आन्दोलनमा लागेकाहरुको झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ ।

राजपा पनि सरकारले आफ्ना माग पूरा गरे सरकारमा सहभागी हुने योजनामा रहेको छ । सरकारसँग राजपाले गरेको आशाअनुसार काम भए संघीय सरकारमा मात्र नभई प्रदेश २ सरकारमा पनि केही गर्न सकिने भन्दै उनले प्रदेश २ सरकार पनि परिवर्तनको संकेत गरे ।

केही समयअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा नेपालबीच भएको दुई बुँदे सहमतिले समेत राजपा सरकारमा सहभागी हुने विश्वास नेताहरूले गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने र नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई बुँदे सहमतिमा उल्लेख छ ।

सत्तारूढ नेकपा र प्रतिपक्षी राजपा नेपालबीच दुई बुँदे सहमतिसँगै प्रदेश २ मा नयाँ सरकार गठन हुने सम्भावना बढेको छ । दुई दलको सहमतिअनुसार राजपा नेपाल संघीय सरकारमा सहभागी हुने र प्रदेश २ मा नेकपा र राजपा नेपाल गठबन्धनको प्रदेश सरकार गठन हुने चर्चा चलेको छ ।

राजपा नेपालका महासचिव तथा प्रदेश २ का सांसद मनीषकुमार सुमनले पार्टीभित्र संसदीय दलका नेताको निर्वाचनको माग उठाएका छन् । अहिलेसम्म राजपाको प्रदेश २ मा संसदीय दलको नेताको निर्वाचन नभएको बताउँदै उनले पार्टी अध्यक्षमण्डलसमक्ष दलको नेताको निर्वाचन गर्न माग गरेका हुन् । राजधानीमा खबर छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्