नेपाल भ्रमण वर्षको दुईथरी लोगो, पर्यटन मन्त्रीले नै गलत लोगोको प्रयोग


 



काठमाडौं, पुस ११
नेपाल भ्रमण वर्ष २०२० को मुख्य लोगो (प्रतीक चिन्ह) दुई थरी प्रयोग भइरहेका छन् । दुई थरी लोगोमा एक लोगो सही र अर्को गलत छ । विभिन्न संघ–संस्था, सरकार, प्रदेश सरकार, स्थानीय तह र सर्वसाधारणलाई पनि कुल लोगो वास्तविक हो भन्ने जानकारी नहुँदा अहिलेसम्म पनि सही र गलत दुवै थरीका लोगो प्रयोग भइरहेको छ ।

यहाँसम्मकी पर्यटनमन्त्री योगेश भट्टराईले पनि गलत लोगो प्रयोग भएका सामग्रीहरूको उदघाटन, शुभारम्भ गरी प्रचार गर्दै आएका छन् । तर, अहिलेसम्म पनि धेरैलाई कुन लोगो सही हो कुन गल्ती हो भन्ने जानकारी नहुँदा दुवै थरी प्रयोग भइरहेका छन् ।

नेपाल पर्यटन बोर्डले २०७५ जेठ २५ गते नेपाल भ्रमण वर्षको लोगो सार्वजनिक गरेको थियो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा रहेको मूल समितिले उत्कृष्ट लोगो मध्येबाट काठमाडौँ बौद्धका डिजाइनर उद्धव रिमालले बनाएको लोगो छनोट गरी सार्वजनिक भएको थियो ।

पर्यटन बोर्डले सामाजिक सञ्जाल साथै सूचना जारी गरी भ्रमण वर्षको लोगो बनाइ पठाउन आग्रह गरेका थिए, जसमा १४५ लोगोमध्ये रिमालको लोगो उत्कृष्टका रूपमा छनोट गरी सार्वजनिक भएको थियो । पहिलो सार्वजनिक भएको लोगो नै गलत थियो । त्यसमा बायाँपट्टी सगरमाथा र दायाँतर्फ माछापुच्छ्रे रहेको थियो । जबकि हिमालय क्षेत्रमा उत्तरतर्फ पहिला माछापुच्छ्रे र त्यो हुँदै पूर्वतर्फ सगरमाथा हुनुपर्ने थियो ।

त्यसैगरी नेपालमा एन सानो थियो भने नेपालको एल र राष्ट्रिय झन्डाको डन्डीसमेत जोडिएको थियो । पछि टुरिज्म बोर्डले फेरी सुधार गरी बायाँतर्फ (सुुरु)मा माछापुच्छ्रे र दायाँतर्फ (पछि) सगरमाथा साथै तल नेपालको एन ठूलो र नेपालको एल छेउमा राष्ट्रिय झन्डाको डन्डा छुट्याएर सार्वजकिन गर्यो ।

तर, पहिलो गलत लोगो अफिसियल वेबसाइटमार्फत गुगल सर्च इन्जिनमा स्टोर भइसकेको थियो भने पछि करेक्सन भएको लोगो पनि गुगलमा सेभ भयो । पहिलो गलत फोटोलाई गुगलबाट नहटाउँदा गलत फोटोको प्रयोग अहिले पनि भइरहेको छ ।

यो गलत लोगो हटाउन नत पर्यटन मन्त्रालय नत नेपाल टुरिज्म बोर्डलेनै पहल गरे । आधिकारिक वेबसाइटमार्फत प्रयास गरेको भए हटाउन सकिने जानकारहरू बताउँछन् । नेपाल टुरिज्म बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठले भने आफूहरूले गुगलबाट हटाउन धेरै प्रयास गरेको तर सफल नभएको दाबी गरिन् । अहिले मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सरोकारवाला निकायलाई नै सही लोगोको बारेमा जानकारी नहुँदा गलत लोगोको प्रयोग भइरहेको छ ।

पर्यटनमन्त्री योगेश भटराईले २०७६ मंसिर २६ गते स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, संघ–संस्थाहरूलाई अनुरोध गर्दै भिजिट नेपाल २०२० को लोगो आफूले प्रयोग गर्ने लेटरप्याड, सामाजिक सञ्जालहरू९फेसबुक, वेबसाइट, टुइटर, इन्सटाग्राम०मा प्रयोग गर्न आग्रह गरेपछि अझ बढी यसको प्रचार भयो । तर, त्यति बेला यो लोगो प्रयोग गर्न भनी उल्लेख पनि भएन् । कारोबारमा खबर छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्