अभियोग प्रमाणित भए ‘सिद्धबाबा’लाई ७ देखि १० वर्ष सजाय


 


सुनसरी, पुस १२
महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको शुक्रबार अदालती बयान लिइएको छ । ४५ वर्षीय गिरीको बयान लिँदालिँदै कार्यालय समय सकिएकाले थुनछेक बहस आइतबारलाई तोकिएको छ। प्रहरीको अनुसन्धानमा बयान दिन आनाकानी गरेका उनलाई बयानका लागि सुनसरी जिल्ला अदालतमा ल्याउँदा महिला अधिकारकर्मीहरुले बलात्कारीलाई कडा दण्डसजायको माग गर्दै नारा जुलुस प्रदर्शन गरेका थिए। गिरीको बयान सकिएकाले थुनछेकका लागि आइतबार उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको थियो।

प्रहरीले बयान सकिएलगतै गिरीलाई फेरिविराटनगरस्थित विराट नर्सिङहोममा फर्काइएको थियो।गिरीले पिडित महिलासँग टेलीफोनमा बोल्दै आइन्दा यस्तो कार्य नगर्ने र आफूलाई माफ दिन तथा मुद्दाफिर्ता लिन गरेको आग्रहको अडियो म्याचिङ गिरीकै आवाजसँग भएको प्रमाणित भइसकेको छ। सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष बुझाइएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको व्यहोरा सहित सजाय माग दाबी गरिएको छ।

अभियोग पत्रमा कृष्णबहादुर गिरीले अनुयायी महिलालाई जबरजस्ती करणी गरेको तथ्य सहित पुष्टि गराइएको छ। अदालतले आइतबारको थुनछेक बहसपछि गिरीको हकमा सादा तारिख, धरौटी वा पूर्पक्ष मध्ये कुनै एक आदेश दिन सक्छ। अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्नेछ।कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १२ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्