पेलेर अघि बढ्दै देउवा, पौडेल र सिटौलाले दिए विद्रोह गर्ने चेतावनी


 


काठमाडौं, पुस १२
काँग्रेस नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनको मिति घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले गुटलाई प्राथमिकतामा राखेर निर्णय गरेको भन्दै इतरपक्षले गम्भीर आपत्ति जनाएको छ ।

निर्णय नसच्याए पार्टीभित्र विद्रोह हुने चेतावनी पौडेल–सिटौला पक्षको छ ।संस्थापन पक्ष मात्र उपस्थित बैठकले ७–१० फागुन ०७७ मा १४औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । वर्तमान कार्यसमितिको चारवर्षे म्याद आगामी १९ फागुनमा सकिने भए पनि विशेष अवस्था देखाउँदै पार्टीका सबै तहको म्याद एक वर्ष थप गर्दै कांग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार पुसभर बाँकी तहका संरचनाको समायोजन सकेर माघदेखि क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने निर्णय कांग्रेसको छ । ९ मंसिर ०७७ मा वडा तह, ११ मा गाउँपालिका र नगरपालिका, १५ मा ३३० प्रदेश क्षेत्र, १७ गते १६५ क्षेत्रीय समिति, २५ गते ७७ जिल्ला र १५ पुसमा सातवटा प्रदेशको अधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गरिसक्ने अवधि ०७६ माघदेखि ०७७ वैशाख मसान्तसम्म तोकिएको छ ।

त्यसपछि जिल्लाले सदस्यताको सूची केन्द्रमा पठाउन १ जेठ ०७७ देखि १५ असारसम्म, जिल्लास्तरमा प्रारम्भिक छानबिन र केन्द्रीय छानबिन समितिमा उजुरी दिने १६ देखि असार मसान्तसम्मको समय तोकिएको छ । सदस्यताको अन्तिम सूचीको समय ०७७ असोज मसान्तसम्म तोकिएको छ ।

पौडेल–सिटौला समूह आक्रामक
वार्ता प्रयास भइरहेका वेला संस्थापनले एक कदम अघि बढेर कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसमा आन्तरिक द्वन्द्व झन् बढेर जाने संकेत देखिएको छ । एकलौटी ढंगले महाधिवेशन कार्यतालिका घोषणा गरेको भन्दै पौडेल र सिटौला असन्तुष्ट बनेका छन् ।

कार्यतालिकाको घोषणा, विभाग थप र तरुण दलको समय थपको निर्णयलगत्तैको प्रारम्भिक प्रतिक्रियामा संस्थापनइतर पक्षले असहमति व्यक्त गरेको छ । कांग्रेसको इतिहासमै बहुमतका आधारमा महाधिवेशनजस्तो ठूलो कार्यक्रमको घोषणा भएकोप्रति नेताहरूले असहमति जनाएका हुन् ।

नेता रामचन्द्र पौडेलले मंसिरमा महाधिवेशन गर्नुपर्नेमा अन्तिम समयमा गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । नेता कृष्णप्रसाद सिटौलाले गुटगत आधारमा महाधिवेशनको घोषणालाई सभापितको ऐतिहासिक गल्ती भएको प्रतिक्रिया दिए ।

एकपक्षीय केन्द्रीय सदस्यहरू मात्र सहभागी भएर गरिएको निर्णयप्रति प्रारम्भिक असहमति जनाएको संस्थापनइतरले शनिबार बैठक गरी धारणा सार्वजनिक गर्ने जनाएको छ । एक वर्ष म्याद थपेर पनि अन्तिम समयमा महाधिवेशन गर्न खोज्नुले झन् जोखिम बढाएको र गलत सन्देश दिएको भन्दै उनीहरूले मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका सच्याएर अघि बढ्नुपर्ने गरी संस्थापनलाई दबाब बढाउने भएको छ ।

‘सहमतिका आधारमा निर्णय गर्न वार्ता भइरहेका वेला एकलौटी ढंगबाट निर्णय भएकोमा कार्यकर्तामा आपत्ति छ । मंसिरसम्म महाधिवेशन गर्न दबाब भइरहेकोमा एक वर्ष समय थप गर्ने विषय उत्तिकै असान्दर्भिक छ,’ केन्द्रीय सदस्य डा।

रामशरण महतले नयाँ पत्रिकासँग भने, ‘अब कार्यकर्ताबीचमा विद्रोह हुन्छ । यसलाई पुनर्विचार गर्नुपर्छ । शनिबार हामी बैठक बसेर यो निर्णयविरुद्ध मत प्रकट गर्छौं।’ नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: १२ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्