पूर्वराज्यमन्त्रीसंग नागरिककै हैसियतमा भारतीय प्यान कार्ड


 



काठमाडौं, पुस १३
पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण पनि प्राप्त भएको छ । उ

नीमाथि दोहोरो नागरिकता लिएको सम्बन्धमा छानबिन भइरहेको छ । कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो क्याटगोरीको कार्ड भारतीय नागरिकको विशेषाधिकार हो ।

गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् । उनीहरूका नाममा ४९एए अनुसार प्यान कार्ड जारी गरिन्छ । त्यति मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ पनि स्पष्ट उल्लेख छ ।

आफूले भारतीय नागरिकको कागजपत्र बनाएको कँडेललाई थाहा छ, त्यसैले उनी संयमित छन्, तर कांग्रेसका केही केन्द्रीय नेताले कँडेलप्रति अति विश्वास देखाउँदै यसअघि नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति अविश्वास गरेका छन् । त्यसैले सीमापारको स्थलगत अनुसन्धान गरेर भारतीय आयकर विभागको दस्ताबेज नै प्राप्त भएको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले पत्र काटेपछि जिल्ला प्रशासन कार्यालय नलवपरासीले सांसद कँडेलसँग दोहोरो नागरिकता रहेको सम्बन्धमा छानबिन गरिरहेको छ । आवश्यक पर्दा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेर भए पनि विवरण संकलन गर्ने तयारी गृह मन्त्रालयको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि कँडेलसँग भारतीय नागरिकता रहे–नरहेको प्रारम्भिक छानबिन गरेको थियो । यसक्रममा कँडेलले भारतीय नागरिक बनेर कलेज व्यवस्थापन समितिको अध्यक्षका रूपमा खाएको शपथपत्रको प्रतिलिपि प्रहरीले संकलन गरेको थियो ।

भारत उत्तरप्रदेश ठुठीबारीको राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय पूर्वप्रधान राजेश सिंहलाई पराजित गरेर डिसेम्बर २०१८ मा कँडेल निर्वाचित भएका थिए । उनी सो कलेजको अध्यक्षका रूपमा अहिले पनि बहाल छन् ।

कलेज व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि शपथ लिँदै कँडेलले आफू भारत उत्तर प्रदेशको ३३ कसैया रोड बेतिहाता जनपथ गोरखपुर निवासी भएको प्रमाण प्रस्तुत गरेका थिए । आफूले दिएको विवरण झुठो साबित भए भारतीय संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि गरेका थिए ।

दोहोरो नागरिकता छानबिन समितिले थप प्रमाण संकलनपछि सांसद कँडेलमाथि बयान लिने तयारी गरेको छ । ‘अधिकांश कागजात संकलन भइसकेका छन्, केही विवरण प्राप्त हुन बाँकी छ । आवश्यक पर्दा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेर भए पनि केही कागजात मगाउँछौँ । त्यसपछि सांसद कँडेललाई बयानका लागि बोलाउँछौँ,’ छानबिन समिति स्रोतले भन्यो ।

व्यक्तिगत विवरण झुठो दिएकोमा सांसद कँडेलमाथि भारतमा पनि कारवाही हुने भएको छ । भारतमा प्यान कार्ड लिदा उनले आफुसँग नेपाली नागरिकता पनि रहेको र सांसद समेत भएको विवरण लुकाएका थिए ।

सीमावर्ती क्षेत्रमा मुन्नाबाबुको रुपमा चिनिने सांसद कँडेलविरुद्ध भारतमा आरडिएक्स बिस्फोटक, चरेस, गाँजालगायत अवैध सामान ओसार–पसारमा संलग्न रहेको उजुरी पनि परेको छ । ३० सेप्टेम्बर २०१९ मा भारतीय गृह मन्त्रालय सीमा प्रबन्धन विभागमा उनीविरुद्ध त्यस्तो उजुरी परेको हो । यो विषयमा भारतमा छानविन भइरहेको छ ।

उत्तर प्रदेशको महराजगन्जका जिल्ला अधिकारीमार्फत भारतीय गृह मन्त्रालयमा पुगेको पत्रमा कँडेल अवैध सामान ओसारपसारमा संलग्न रहेको उल्लेख गर्दै छानबिन गर्न माग गरिएको छ । उजुरीमा नेपालबाट चरेस, कस्मेटिक सामान, विदेशी हातहतियार, गाँजा एवं आरडिएक्स आदिको अवैध ओसारपसार गरी गोरखपुर हुँदै दिल्ली, मुम्बईलगायतका ठाउँहरूमा बिक्री गर्ने गरेको आरोप लगाइएको छ ।

यस्तो कार्यमा कँडेल र उत्तरप्रदेशस्थित आजमगढका तस्कर निषाद आलमको मिलेमतो रहेको आरोप उजुरीमा छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: १३ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्