विश्व कप छनौटमा इटाली, स्पेन र वेल्सको विजय सुरुवात


 


World-Cup-2018-logoहाइफा, भदाै २१

इटाली र स्पेनले विश्व कप छनौटमा विजय सुरुवात गरेका छन् । रुसमा हुने २०१८ को विश्व कपका लागि युरोपियन छनौट अन्तर्गत सोमबार राती भएको खेलमा इटालीले इजरायल र स्पेनले लिएखटेन्स्टाइनलाई पराजित गर्दै विजय सुरुवात गरेका हुन् ।

छनौट अन्तर्गत समुहको पहिलो खेलमा इटालीले इजरायललाई ३–१ ले हरायो । इटालीको जितमा ग्रजियानो पेले, एन्टोनियो क्याड्रेवा र सिरो इमोबाइलले समान एक एक गोल गरे । जितसंगै समुह जी मा रहेको इटालीले ३ अंक जोडेको छ ।

इजरायलको हाइफामा भएको खेलमा इटालीले खेलको १४ औं मिनेटमा पेलेको गोलबाट सुरुवाति अग्रता लिएको थियो । ३१ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्यानड्रेवाले इटालीको अग्रता दोब्बर पारे ।

३५ औं मिनेटमा इजरायलका ताल बेन हाइमले एक गोल फर्काए । तर दोस्रो हाफको ८३ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–१ को जित दिलाए ।

यस्तै लोनमा भएको खेलमा स्पेनले लिएखटेन्स्टाइनलाई फराकिलो अन्तरले पराजित गर्यो । समुह जी मा रहेको स्पेनले लिएखटेन्स्टाइनलाई ८ – ० ले पराजित गरेको हो ।

स्पेनको जितमा डिएगो कोष्टा, डेभिड सिल्भा र अल्भारो मोराटोले दुई दुई तथा सर्जो रोबर्टो र भिटोलोले एक एक गोल गरे । जितसंगै ३ अंक जोडेको स्पेन समुह जी को शिर्ष स्थानमा छ । समान ३ अंक भएपनि गोल आधारमा पछि पार्दै इटाली दोस्रो स्थानमा छ ।

यस्तै विश्वकप छनौट अन्तर्गत समूह आइ खेलहरु भने बराबरीमा सकिएको छ । सोमबार राती भएको खेलमा फिनल्याण्ड र कोसोभो, क्रोएसिया र टर्की तथा युक्रेन र आइसल्याण्डले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यस्तै माल्डोभालाई पराजित गर्दै वेल्सले विश्व कप छनौटमा बिजय सुरुवात गरेको छ । सोमबार राती भएको खेलमा वेल्सले माल्डोभालाई ४–० ले पराजित गर्दै विजय सुरुआत गरेको हो ।

समुह डी मा रहेको वेल्सलाई पहिलो खेलमा जित दिलाउन ग्यारेथ बेलले दुई तथा सामुएल वोक्स र जोए एलनले एक एक गोल गरे । जितसंगै वेल्सले समुहमा ३ अंक जोडेको छ र समुहको शिर्ष स्थानमा छ । समुह डीमा अष्ट्रिया दोस्रो स्थानमा छ ।

कार्डिफमा भएको खेलमा वेल्सले ३८ औं मिनेटमा सामुएल वोक्सको गोलबाट सुरुवाति बनाएको थियो । ४४ औं मिनेटमा एलनले गोल गरेपछि वेल्सले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा वेल्सका बेल चम्किए । खेलको ५० औं मिनेटमा बेलले पहिलो गोल गर्दै अग्रता ३–० मा पुर्‍याए । त्यसपछि इन्जुरी समयमा बेलले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ४–० को जित दिलाए ।

विश्व कप छनौट अन्तर्गत नै समूह डीमै रहेको अस्ट्रियाले सोमबार राती जर्जियालाई २–१ ले पराजित गर्यो । यस्तै सर्बिया र रिपब्लिक अफ आयरल्याण्डले २–२ को बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्