न्यूयोर्कमा ट्रक दुर्घटना हुँदा नेपाली बालकको मृत्यु, आमाको अवस्था गम्भीर


 


काठमाडौं, पुस २३
न्यूयोर्कमामा ट्रक दु्र्घटनामा परी एक नेपाली बालकको मृत्यु भएको छ भने सोही दुर्घटनामा परी आमा गम्भीर घाइते भएकी छन् ।

न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको त्यहाँको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

दुर्घटनालगत्तै आमा–छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो । श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।‘ट्रकले श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो,’ न्यूयोर्क डट सीबीएस लोकल डटकमले लेखेको छ, ‘आमा बालक भए ठाउँमा पुग्न खोजिन् तर खुट्टा भाँचिएका कारण सकिनन् ।’

मिना छोरा श्रीजललाई स्कुल पुर्‍याउन जाँदै थिइन् । उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटनालाई प्रत्यक्षदर्शीले हृदयविदारक भनेका छन् ।घटनाका प्रत्यक्षदर्शी प्रकाश तुलाधरले न्यूयोर्क डेली न्यूजसँग भनेका छन्, ‘उनीहरु बिहान स्कुल जाँदै थिए । म नातिनीसँग बाहिर निस्किएको थिएँ । त्यहीबेला मानिसहरु सडकमा लडिरहेको देखें । यो दृष्य एकदमै डरलाग्दो थियो ।’

मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ ।एनवाई डेली न्यूजले लेखेको छ, ‘अस्पतालको शय्याबाट आमाले छोराको अवस्थाबारे सोधिरहेकी छन् । तर, उसको मृत्यु भइसकेको भन्ने आँट कसैसँग छैन ।’गैरआवासीय नेपाली संघ न्यूयोर्क शाखाका अध्यक्ष रामहरी अधिकारीले यो घटनाले नेपाली समुदायमा ठूलो क्षति पुगेको बताएका छन् । ‘हामी ठूलो सपना लिएर अमेरिका आउँछौं तर यस्तो भइदिन्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्