सभामुख चयन प्रक्रिया आजबाट, राजीनामा दिने तयारीमा उपसभामुख तुम्बाहाङ्फे


 


काठमाडौं , माघ ६
पछिल्लो तीन पटक सूचना टासेर स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज बस्ना लागेको छ। आजको बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया अघि बढाउने भएको छ ।

आइतबार सत्तारुढ नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएसँगै आजबाट बैठक सुचारु हुन लागेको हो । सभामुखमा सापकोटा निर्वाचित हुने करिब निश्चित छ ।

सभामुखमा निर्वाचित हुन प्रतिनिधिसभाको सम्पूर्ण सदस्य २ सय ७५ को बहुमत १ सय ३८ मत आवाश्यक पर्छ । नेकपासँग १ सय ७४ सांसद छन् । यसकारण नेकपाका उम्मेदवार सापकोटा सहजै निर्वाचित हुने देखिन्छ ।

आजको संसद् बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तय भएको संसद सचिवालयले जनाएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेपछि बैठक ज्येष्ठ सदस्य ठाकुरले सञ्चालन गर्न लागेका हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले पत्रकार सम्मेलन नै गरेर राजीनामा बुझाउने तयारी गरेको उनको सचिवालय स्रोतले जनाएको छ । उनले आफूले राजीनामा दिनुपर्ने कारण पटक पटक माग गर्दै आएकी छिन् ।

यद्यपी उनले गतिरोध हल हुने भए बाटो खोलिदिन आफू तयार रहेको भन्दै राजीनामा बुझाउन लागेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्