अर्थतन्त्र गौरव गर्न लायक बाटोमाः अर्थमन्त्री


 


काठमाडौं, माघ ७
अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ ।

कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भन्नुभयो ।
मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।”नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उहाँले भन्नुभयो, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।”

विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो रु भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाउनुभयो । विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो,“अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भन्नुभयो । बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताउनुभयो ।
पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिनुभयो ।

बैकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिनुभयो । बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्