यस्ताे छ दाहालकाे दिल्ली कार्यक्रम


 


काठमाडाैं, भदाै २५

औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने भएका छन् ।

३० भदौको बिहान ११ बजे नेपाल एयरलाइन्सबाट प्रधानमन्त्री नयाँदिल्ली जानेछन् भने २ असोज दिउँसो १ बजेको उडानबाट स्वदेश फर्किने तय भएको छ। प्रधानमन्त्री प्रचण्ड दिल्लीमा राष्ट्रपतिभवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड ३० भदौमा दिल्ली जानासाथ तीन कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका अगुवा कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रधानमन्त्रीको भेट हुनेछ।

साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन्। प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिभवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ।

उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिभवनमा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ।

प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्‍याउनेछन् । हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा पत्रकार ब्रिफिङ गर्ने कार्यक्रमको गृहकार्य भइरहेको छ। ‘यसका लागि कोसिस भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विदेशसचिव एस जयशंकर, मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्नेछन् । सोही दिन साँझ नेपाल र भारतबीच संयुक्त विज्ञप्ति प्रकाशन हुनेछ।

प्रधानमन्त्रीलाई भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कंग्रेस, कम्युनिस्ट पार्टी माक्र्सवादी, जनता दल युनाइटेडका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड हिमाचल प्रदेशस्थित कोलड्याम हाइड्रोपावरको बाँध निरीक्षण गर्न जाने कार्यक्रम छ ।

बिहान बाँध हेर्न गएर अपराह्न दिल्ली नै फर्किने र राजनीतिक भेटवार्ता पनि हुनेछन्। प्रधानमन्त्री प्रचण्डलाई बेंग्लोर लैजाने भारतको प्रस्ताव थियो । तर, प्रचण्डको इच्छा नभएका कारण भारत सरकारले हिमाञ्चल लैजाने कार्यक्रम बनाएको हो।

यसमा प्रधानमन्त्रीले कूटनीतिक च्यानलमार्फत सहमति जनाएका छन्। प्रधानमन्त्री प्रचण्ड २ असोजको बिहान राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

फर्किएको भोलिपल्ट प्रधानमन्त्री न्युयोर्क जानेछन्। प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्। न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्