अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति खोज्न सकस, एउटा घर मात्रै भेटियो


 



काठमाडौं, माघ १३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान जटिल बन्दै गएको छ । बस्न्यातले स्रोत नखुलेको कालोधन आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो ।

तर, महिनौंको छानबिनमा पनि बस्न्यात परिवारको नाममा धेरै सम्पत्ति भेटाउन सकेको छैन । उनले आफन्तभन्दा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको आशंका गरिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका खेलेको अभियोगमा अख्तियारले बस्न्यातमाथि बयान लिएको थियो ।

त्यसलगत्तै सम्पत्ति शुद्धीकरण विभागले पनि उनीमाथि अवैध कालोधन आर्जन गरी राखेको आशंकामा छानबिन थालेको थियो । तर, सम्पत्ति लुकाएका व्यक्तिहरूसम्म पुग्न विभागलाई कठिन भएको छ ।

अख्तियारले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न भएकोमा बस्न्यातविरुद्ध मुद्दा दर्ता गरेलगत्तै विभागले उनीविरुद्ध अबैध सम्पत्ति आर्जनको अर्को मुद्दा दायर गर्ने रणनीतिसहित छानविन थालेको थियो । तर, अहिलेसम्मको अनुसन्धान जटिल बन्दै गएको विभागले जनाएको छ । बस्न्यातको सम्पत्ति छानविनमा विभागले सबैभन्दा विश्वासिला र अनुसन्धानमा उच्च क्षमता भएका कर्मचारी र प्रहरी खटाएको छ ।

बानेश्वरमा एउटा मात्र घर
अहिलेसम्म छानविनबाट बस्न्यात परिवारको नाममा नयाँ बानेश्वरमा चार रोपनी क्षेत्रफलमा एउटा घर मात्र भेटिएको छ । त्यसबाहेक उनले प्रयोग गर्दै आएको गाडीसमेत एउटा संस्थाको रहेको पाइएको छ । विभागले बस्न्यात, उनकी श्रीमती र छोराछोरीको सम्पत्ति छानबिन गरिसकेको छ । अनुसन्धान अधिकृतहरूले बस्न्यातले गोप्य रूपमा अवैध धन लुकाएर राखेको जिकिर गर्दै छानबिन गरिरहेको छ ।

यस अवधिमा बस्नेतले १५ देखि २० लाख रुपैयाँ स्रोत नखुलेको पैसा कारोबार गरेको भेटिएको छ । अनुसन्धानको क्रममा बस्न्यात परिवारका सदस्यहरूको नाममा केही बैंकमा खाता भेटिएको थियो । तर, खातामा अस्वाभाविक कारोबार भेटिएको छैन । करिब १५–२० लाख स्रोत नखुलेको रकम कारोबार भएको भेटिएको छ ।

ससुरालीदेखि मावलीसम्म छानबिनको दायरामा
सम्पत्ति शुद्धीकरण विभागले अहिलेसम्म बस्न्यातको सगोलको परिवार, ससुराली र उनको मावलीको सम्पत्ति जाँचिसकेको छ । आफन्तको नाममा कालोधन लुकाएको आशंकामा विभागले सम्भावित व्यक्तिमाथि छानविन गरिरहेको छ ।

बस्न्यात र उनको परिवार तथा आपन्तको नाममा अवैध सम्पत्ति नभेटेपछि विभागले उनीसँग हिमचिममा रहेका व्यक्तिमाथि निगरानी बढाएको छ । बस्न्यात र उनको परिवारको नाममा अन्य व्यवसाय नभएको र परिवार तथा आफन्तको नाममा पनि सम्पत्ति नभेटेपछि विभागले अनुसन्धानको घेरा बढाउँदै लगेको हो ।

मेनपावर, घरजग्गा तथा पार्टी प्यालेसमा उनले केही विश्वासिला व्यक्तिमार्फत लगानी गरेको स्रोत बताउँछ । त्यसको प्रमाण भेट्न विभागलाई सकस भएको छ । नयाँ पत्रिका

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्