सामाखुसी फुटसलले जित्यो फुटबल उपाधि


 


काठमाडौँ,  भदौ २५

सामाखुसी फुटसलले कामाद कप ‘सिक्स ए साइड’ पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ–७, चाबहिलद्वारा आयोजित प्रतियोगिताको यहाँ आज भएको फाइनलमा सामाखुसीले केएएफसीलाई ५–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजयी टोलीका लागि श्याम नेपाली र नवीन लामाले २–२ तथा दिनेश कार्कीले १ गोल गरे । त्यस्तै, केएएफसीका मोहन गुरुङले सान्त्वना गोल फर्काए ।

उपाधिसँगै सामाखुसीले रु एक लाख पुरस्कार हात पा¥यो भने केएएफसीले रु ५० हजार नगदमा चित्त बुझायो । विजेता र उपविजेताको नगद पुरस्कार कामाद कलेजले प्रायोजन गरेको हो ।

प्रतियोगितामा केएएफसीका मोहन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिताभर १४ गोल गरेका साइपाल एकेडेमीका उनम बुढाथोकी सर्वाधिक गोलकर्ता बने । त्यस्तै, सामाखुसीका अनिल लामा उत्कृष्ट गोलरक्षक तथा सामाखुसीकै दिनेश कार्की उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्ट चारैले समान रु पाँच हजार पुरस्कार पाए ।

विजेतालाई कामाद कलेजका अध्यक्ष नेत्रबहादुर कार्की, चाबहिल स्पोर्टस क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले पुरस्कृत गरे । यही भदौ ९ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ५२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्