बालुवाटार जग्गा प्रकरणमा को-कोले सफाई पाए ?


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा अतिक्रमण प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदार र आफ्नै पूर्वआयुक्त दिपकुमार बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा ४ पूर्वमन्त्री, पूर्वसचिवहरु लगायत छन् । यो प्रकरणमा गच्छदार सबैभन्दा ठूला माछा हुन् ।

तर, बालुवाटार जग्गा अतिक्रमणको अनुसन्धान हुँदै गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेल, पूर्वमन्त्री सञ्जय साह, तत्कालिन मुख्यसचिव लिलामणी पौडेल लगायत ठूला व्यक्तिको पनि नाम मुछिएको थियो । अख्तियारले बयान समेत लिएको थियो । तर, यी भिआईपीहरु सबैले यो मुद्दाबाट सफाई पाएका छन् । अख्तियार यिनीहरुसहित १७ जनाविरुद्ध मुद्दा नचलाएर सफाई दिएको हो । यसमा सर्वाेच्चका न्यायाधीश कुमार रेग्मी पनि परेका छन् । उनी जग्गा सरकारलाई फिर्ता गर्न तयार भएपछि मुद्दा नचलाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मन्त्रिपरिषदको सामूहिक निर्णय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै मुद्दा नचलाएको हो । तर, अनुसन्धानका क्रममा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्न सरकारका विभिन्न मन्त्रालय र निकायहरुबाट भएका गैरकानुनी कार्यलाई वैधानिकता दिलाउने प्रस्तावमा नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाटै निर्णय भएको पाइएको छ ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्