चीनको पक्षमा दमदार बोले प्रचण्ड, अमेरिकालाई सिधै काउन्टर


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फेरि एकपटक उत्तरी छिमेकी चीनको पक्षमा बोलेका छन् । अमेरिकालाई सोझै काउन्टर हुनेगरी प्रचण्ड चीनको पक्षमा बोलेका हुन् ।

प्रचण्डले बोलेको विषय हो चीनमा देखिएको कोरोना भाइरस । जसलाई लिएर अमेरिकाले चीनविरुद्ध नकारात्मक प्रचार गर्ने, विश्वलाई नै आतंकित बनाउने, तीललाई पहाड बनाउने काम गरिरहेको छ । जसमा चीनको विदेश मन्त्रालयले समेत पत्रकार सम्मेलन गरेरै विरोध जनाइसकेको छ । सहयोग गर्नुको साटो अमेरिकाले अफवाह फैलाइरहेको भन्दै चीनले विरोध जनाएको थियो ।

बुधबार प्रचण्डले पोखरामा पत्रकारहरुसँग कुरा गर्दै चीनलाई नरुचाउनेहरुले कोरोनाबारे गलत प्रचार गरेको टिप्पणी गरे । उनको सिधा निशाना अमेरिकातिर थियो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको र यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको उनको भनाई थियो । पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेको चीनको भनाई समर्थन जनाउँदै प्रचण्डले चीनलाई नरुचाउनेहरु उनको विरुद्ध लागेको दाबी गरे ।

भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने बताए । ‘कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी रुपमै परेको छ,’ प्रचण्डले भने, ‘हाम्रा निम्ति खुसीको कुरा के भने नेपालमा एउटा पनि कोरना भाइरसबाट संक्रमित भएको मान्छे छैन ।’

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्